नेपाली फुटबलको वर्तमान अवस्था र भविष्यका चुनौतीहरू

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०५-२१
  • |
  • 295 पटक हेरिएको

सुरेश शाह । नेपाली फुटबललाई विकासको बाटोमा अगाडि बढाउन एन्फाले ग्रासरुट तहदेखि नै काम गरिरहेको छ। हामीले युवा खेलाडीहरूलाई प्रोत्साहन गर्न र उनीहरूको क्षमता विकास गर्न विभिन्न उमेर समूहका टूर्नामेन्टहरू आयोजना गरिरहेका छौं। चाहे त्यो १६ वर्षमुनिको होस्, १८ वर्षमुनिको होस् वा महिला फुटबल होस्, हामीले यी क्षेत्रमा विशेष जोड दिएका छौं। अहिले हाम्रो फोकस महिला फुटबलको विकासमा पनि छ। विगतमा महिला फुटबल टूर्नामेन्टहरू कम हुन्थे, तर अहिले हामीले जिल्ला तहदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म महिला लिग र प्रतियोगिताहरूलाई प्राथमिकता दिएका छौं। उदाहरणका लागि, हामीले महिला लिगहरू सञ्चालन गरिसकेका छौं र अहिले पनि क्वालिफायरहरू चलिरहेका छन्। यस्ता प्रयासले महिला खेलाडीहरूको सहभागिता र आत्मविश्वास बढेको छ।

अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली फुटबलले उल्लेखनीय प्रगति गरेको छ। हामीले पछिल्लो समयमा अन्तर्राष्ट्रिय टूर्नामेन्टमा सहभागिता जनाइरहेका छौं। यो सहभागिताले हाम्रा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा अनुभव प्राप्त भएको छ। विशेषगरी, हाम्रा महिला खेलाडीहरूले युरोप, खाडी मुलुकहरू र अन्य देशहरूमा गएर राम्रा क्लबहरूबाट खेल्ने अवसर पाएका छन्। यसले नेपाली फुटबलको पहिचानलाई विश्वमाझ स्थापित गरेको छ। यद्यपि, नतिजाको हिसाबले हामीले अपेक्षित सफलता नपाएको हुन सक्छ। तर, हाम्रो सहभागिता र प्रदर्शनले हामीले बलियो उपस्थिति देखाएका छौं। कतिपय खेलमा हामीले आफूभन्दा माथिल्लो र्‍याङ्किङका टोलीहरूलाई समेत चुनौती दिएका छौं। कहिले जितिन्छ, कहिले हारिन्छ। तर, हाम्रो प्रयास र उपस्थिति सधैं सशक्त रहन्छ।

हामीले राष्ट्रिय स्तरमा पनि फुटबलको संरचनालाई बलियो बनाउन विभिन्न प्रतियोगिताहरू सञ्चालन गरेका छौं। अब हामी ए डिभिजन र महिला लिगका लागि तयारी गरिरहेका छौं। साफ च्याम्पियनसिप, १६ वर्षमुनि र १८ वर्षमुनिका टूर्नामेन्टहरूमा हाम्रा टोलीहरूले नियमित सहभागिता जनाइरहेका छन्। यी सबै गतिविधिले हाम्रो फुटबलको क्यालेन्डर अत्यन्त व्यस्त र जीवन्त भएको छ।

फुटबलको विकासका लागि हामीले स्थानीय तहमा पनि काम गरिरहेका छौं। विगतमा रेफ्री र प्रशिक्षकहरूको अभाव थियो। तर, पछिल्ला तीन वर्षमा हामीले करिब ४०० प्रशिक्षक र ३६० रेफ्री तयार गरेका छौं। हाल २०० जति सक्रिय रेफ्रीहरूले काम गरिरहेका छन्। यो प्रयासले फुटबललाई स्थानीय तह र मोफसलसम्म व्यावसायिक बनाउने हाम्रो लक्ष्यलाई बल पुगेको छ। हामीले फुटबललाई ग्रासरुटदेखि व्यावसायिक स्तरसम्म पुर्‍याउने प्रयास गरिरहेका छौं।

यद्यपि, हामीले केही चुनौतीहरूको सामना गर्नुपरेको छ। विशेषगरी, अन्तर्राष्ट्रिय मापदण्डअनुसार मैदान र पूर्वाधारको व्यवस्थापनमा हामीलाई कठिनाइ छ। एसियाली फुटबल महासङ्घ (एएफसी) ले मैदानको मापदण्डमा कडाइ गरेको छ। एक वर्षअघि एएफसीको निरीक्षण टोलीले हाम्रा मैदानहरूको पिचको अवस्था, फ्लडलाइट, प्रशिक्षण मैदान र अन्य पूर्वाधारमा सुधार गर्न सुझाव दिएको थियो। हामीले ती सुझावलाई सम्बोधन गर्न पिचको अवस्था सुधार्ने, फ्लडलाइट जडान गर्ने र प्रशिक्षण मैदानमा लगानी गर्ने काम गरेका छौं। तर, हालैको एएफसी निरीक्षण टोलीले नयाँ मापदण्डहरू थपेको छ, जस्तै मैदानको सुरक्षा प्रमाणपत्र, ड्रेनेज सिस्टम, दर्शक र खेलाडीहरूका लागि छुट्टाछुट्टै प्रवेशद्वार, सिसिटिभी क्यामेरा र अन्य सुरक्षा व्यवस्थाहरू। यी मापदण्डहरू पूरा गर्न हामीलाई छोटो र लामो अवधिका योजनाहरू बनाउनुपर्ने आवश्यकता छ।

छोटो अवधिमा हामीले सिसिटिभी जडान, पिचको मर्मत र अन्य सामान्य सुधारहरू गर्न सक्छौं। तर, ड्रेनेज सिस्टम, प्यारापेट, प्रवेशद्वार र अन्य ठूला पूर्वाधारमा परिवर्तन गर्न लामो अवधिको योजना र लगानी चाहिन्छ।

यहाँ एउटा महत्त्वपूर्ण कुरा के छ भने, हाम्रो मुख्य रङ्गशाला (दशरथ रङ्गशाला) को स्वामित्व एन्फासँग छैन। यो रङ्गशाला नेपाल सरकारअन्तर्गत राष्ट्रिय खेलकुद परिषद्को स्वामित्वमा छ। यो बहुउद्देश्यीय रङ्गशाला भएकोले फुटबलसँगै एथलेटिक्स र अन्य खेलहरू पनि यहाँ सञ्चालन हुन्छन्। त्यसैले, कुनै पनि परिवर्तन वा मर्मतका लागि हामीले राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित मन्त्रालयसँग स्वीकृति लिनुपर्छ। यो प्रक्रियाले हाम्रा प्रयासहरूलाई जटिल बनाएको छ।

हाम्रा मैदानहरू पुराना छन् र भूकम्पले पनि केही पूर्वाधारमा क्षति पुर्‍याएको छ। हामीले मर्मत र सुधारका कामहरू गरेका छौं, तर एएफसी र फिफाले तोकेका मापदण्ड पूरा गर्न थप लगानी र दीर्घकालीन योजना चाहिन्छ।

उदाहरणका लागि, हाम्रो पिचको ड्रेनेज सिस्टममा समस्या छ। पानी जम्ने र सिपेज हुने समस्याले खेल प्रभावित हुन्छ। यस्तै, पानी छर्कने प्रणालीलाई पनि आधुनिक बनाउनुपर्ने सुझाव आएको छ।

यी समस्याहरू समाधान गर्न हामीले सरकार, राष्ट्रिय खेलकुद परिषद् र अन्य सरोकारवालाहरूसँग सहकार्य गरेर दीर्घकालीन योजना बनाउनुपर्छ। यदि हामीले यी मापदण्ड पूरा गर्न सक्यौं भने, हामीले अन्तर्राष्ट्रिय म्याचहरू नेपालमै आयोजना गर्न सक्छौं। तर, यदि हामीले टालटुले समाधान मात्र खोज्यौं भने, भविष्यमा थप समस्याहरू आउन सक्छन्।

अर्को कुरा, साफ च्याम्पियनसिप र क्लब म्याचहरूका लागि मापदण्ड केही लचिलो हुन्छ। यस्ता टूर्नामेन्टहरू हामीले सहजै आयोजना गर्न सकिरहेका छौं। तर, एएफसी र फिफासँग सम्बन्धित म्याचहरूका लागि कडा मापदण्डहरू पालना गर्नुपर्छ।

यी मापदण्डहरूले हामीलाई चुनौती दिए पनि, हामीले यिनलाई अवसरको रूपमा लिनुपर्छ। हामीले पूर्वाधार सुधारेर नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा अझ सशक्त बनाउन सक्छौं।

म के भन्न चाहन्छु भने, नेपाली फुटबल प्रगतिको बाटोमा छ। हामीले ग्रासरुटदेखि व्यावसायिक स्तरसम्म काम गरिरहेका छौं।

युवा र महिला खेलाडीहरूको विकास, अन्तर्राष्ट्रिय सहभागिता र पूर्वाधार सुधारमा हाम्रा प्रयासहरू केन्द्रित छन्।

तर, हामीले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न सरकार, सरोकारवाला र सम्पूर्ण फुटबल समुदायको सहयोग चाहिन्छ। हामीले दीर्घकालीन योजनामार्फत नेपाली फुटबललाई विश्वस्तरीय बनाउने सपना पूरा गर्नुपर्छ। नेपाल न्युज बैंकबाट

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal