के वान वर्ल्ड म्याक्स-२०२५ टुर्नामेन्ट: नेपाली बक्सर घिमिरे फ्रान्सेली प्रतिद्वन्द्वी लेजीजीसँग भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८२-०५-१५
  • |
  • 264 पटक हेरिएको

‘के वान वर्ल्ड म्याक्स-२०२५ टुर्नामेन्ट’मा पहिलो पटक नेपाली युवा बक्सर अविरल घिमिरे (हिमालयन चितुवा) रिङमा उत्रँदैछन्। यो विश्वप्रसिद्ध प्रतियोगिता यही भदौ २२ (सेप्टेम्बर ७, २०२५) मा जापानको टोकियोमा हुँदैछ।

'हिमालयन चितुवा' नामले परिचित घिमिरेसहित चीन, बुल्गेरिया, नेदरल्यान्ड्स, सेनेगल, ब्राजिल, पोल्यान्ड, आर्मेनिया, अमेरिका, फ्रान्स, जर्मनी, रुस, माल्डोभाका चर्चित बक्सरहरू यस प्रतियोगितामा कडा प्रतिस्पर्धा गर्दैछन्।

नेपालको किक बक्सिङ इतिहासमा धेरै कीर्तिमान बनाइसकेका घिमिरेले प्रतियोगिताको पहिलो दिन फ्रान्सका प्रतिद्वन्द्वी आइमेरिक लेजीजीसँग भिड्नेछन्। के वान क्लबले सार्वजनिक गरेको तालिकाअनुसार घिमिरेले यो खेल जितेमा फेरि कात्तिक २९ (नोभेम्बर १५, २०२५) मा एकै दिन तीन खेल खेल्नुपर्नेछ। यदि उनले ती सबै खेल जिते भने उनी किक बक्सिङको इतिहासमै विश्वको नम्बर वान खेलाडी बन्नेछन्।

'के वान वर्ल्ड म्याक्स टुर्नामेन्ट' लाई किक बक्सिङ खेलको सर्वोच्च प्रतियोगिता मानिन्छ। यसका लागि बक्सर घिमिरेले आफ्नो तयारीलाई तीव्र बनाएका छन्। उनले आफ्नै खर्चमा थाइल्यान्डको फुकेट सहरस्थित टाइगर मोथाई क्लबबाट विशेष तालिम लिएर जापान फर्केका थिए। हाल, उनी जापानमा आफ्नै बुबा र पूर्व अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा अभ्यास गरिरहेका छन्।

जापानस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले 'के वान वर्ल्ड म्याक्स-२०२५ टुर्नामेन्ट' मा प्रतिस्पर्धा गर्ने घिमिरेलाई सफलताको शुभकामना दिएका छन्। उनले यस्तो प्रतिष्ठित प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता हुनु नै एउटा ऐतिहासिक सफलता भएको बताएका छन्।

टोकियोका सार्वजनिक स्थानमा राखिएका होर्डिङ बोर्डहरूमा नेपाली झन्डासहित 'हिमालयन चितुवा'को तस्बिर र उनको प्रतिस्पर्धाका भिडियो देखाइएको छ।

बक्सर अविरलले अहिलेसम्म २५ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर १९ खेल जितेका छन्, जसमध्ये १८ वटा नकआउट थिए। उनले तीन पटक ‘हिट किकबक्सिङ टाइटल डिफेन्स’, चार पटक ‘हिट किकबक्सिङ टाइटल म्याच’, ‘अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का) टाइटल’ र ‘के वान क्रस-१७५ टाइटल’ जितिसकेका छन्।

गत जेठ ४ मा जापानको ओसाका सहरमा भएको 'के वान क्रस-१७५' को उपाधि जितेर अविरलले एकैपटक तीनवटा अन्तर्राष्ट्रिय किक बक्सिङ उपाधि हात पारेका थिए। त्यो प्रतियोगितामा उनले जापानी च्याम्पियन ओडा जिन्कलाई दोस्रो राउन्डमा नकआउट गरेका थिए। जिन्कलाई नकआउट गर्ने अविरल पहिलो खेलाडी हुन्।

'के वान क्रस-१७५' लाई किक बक्सिङ क्षेत्रको एक अत्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ। अविरल ‘इन्टरनेसनल किक बक्सिङ एसोसिएसन’ (इस्का) र ‘हिट’ प्रतियोगिताको टाइटल बेल्ट जित्ने पहिलो नेपाली खेलाडी पनि हुन्।

अविरल आफ्नो बुबा देवसँगै जापानको नागोया सहरमा बस्छन्। उनका बुबा देव पनि पूर्व फुलकन्ट्याक्ट कराते खेलाडी हुन् र उनी सन् २००४ मा कोरियाको सोलमा भएको ‘के वान प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’मा भाग लिने पहिलो दक्षिण एसियाली खेलाडी थिए। अविरलको परिवार चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा हुन्।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal