हाई पर्फमेन्स सेन्टरले नेपाली खेलकुदमा नयाँ आयाम थपेको छ : क्यान सचिव खड्का
-
नेप्लेज
- |
- २०८२-०४-२२
- |
- 373 पटक हेरिएको
नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा स्थापना भएको हाई पर्फमेन्स सेन्टरले नेपाली खेलकुदमा नयाँ आयाम थपेको बताएका छन्। हालै सम्माननीय प्रधानमन्त्रीको उपस्थितिमा उद्घाटन भएको यो सेन्टरले खेलाडीहरूलाई विश्वस्तरीय सुविधा प्रदान गर्ने उनको विश्वास छ।
पारसले विगत सम्झिँदै भने, "पहिला हामीले बर्खाको समयमा यही हलमा सुटिङ हलमा क्रिकेट नेट्स राखेर अभ्यास गर्थ्यौं। तर आज धेरै समयपछि राखेपका सदस्य सचिवको पहलमा हामीले यो हाई पर्फमेन्स सेन्टरमा आधुनिक सुविधाहरू देख्न पाएका छौं। यो एकदमै गजब लाग्यो।"
उनले सेन्टरमा उपलब्ध अत्याधुनिक उपकरणहरूले खेलाडीहरूको शारीरिक र जैविक मेकानिक्स (बायोमेकानिक्स) विश्लेषण गर्न, स्ट्रेन्थ ट्रेनिङलाई प्रभावकारी बनाउन र समग्र फिटनेसमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए। "यो सेन्टरमा राम्रो जिम, फिटनेस ट्रेनर, फिजियोथेरापिस्ट र अन्य सुविधाहरू छन्। यो केवल क्रिकेटका लागि मात्र नभई अन्य खेलहरूका लागि पनि उपयोगी हुने गरी डिजाइन गरिएको छ," उनले थपे।
पारसले यो हाई पर्फमेन्स सेन्टर खेलाडीहरूका लागि ठूलो अवसर भएको उल्लेख गर्दै खेल संघहरूलाई यस्ता सुविधाहरूको अधिकतम उपयोग गर्न आग्रह गरे। "यो सुविधा नेपाली खेलकुदको विकासका लागि कोसेढुंगा सावित हुनेछ। खेल संघहरूले यसको सदुपयोग गरेर खेलाडीहरूको प्रदर्शनलाई नयाँ उचाइमा पुर्याउनुपर्छ," उनले भने।