एसिया कपमा शनिबार भारतले पाकिस्तानको सामना गर्दैछ । यो खेललाई लिएर दुवै देशका फ्यानहरु निकै उत्साहित छन् । तर, खेल सुरु हुनुभन्दा करिब १९ घण्टाअघि नै पाकिस्तानले प्लेयिङ सेट सार्वजनिक गरेको छ । खेल शनिबार नेपाली समय अनुसार दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ । टस त्यसको आधा घण्टा अगाडि अर्थात् दिउँसो पौने ३ बजे हुनेछ ।
नेपालविरुद्धको खेलेको पाकिस्तानले आफ्नो टोलीमा कुनै परिवर्तन गरेको छैन । तीन फास्ट बलरबाहेक पाकिस्तानी टिम व्यवस्थापनले तीन स्पिन बलिङ अलराउन्डरलाई प्लेइङ–११ मा राखेको छ ।
यसबाहेक टोलीको ब्याटिङ पनि निकै बलियो देखिन्छ । फखर जमान र इमाम उल हक ओपनिङमा देखिनेछन् । साथै, बाबर आजम, मोहम्मद रिजवान, इफ्तिखार अहमद, सलमान आगा मध्यक्रममा देखिनेछन्। शादाब खान र मोहम्मद नवाजले पनि तल्लो क्रममा ब्याटिङ गर्न सक्छन् । नसिमका अलावा शाहिन अफ्रिदी र हरिस रउफ पेस आक्रमणमा देखिनेछन्।
भारतविरुद्धको खेलमा पाकिस्तानको प्लेइङ–११
बाबर आजम (कप्तान), फखर जमान, इमाम उल हक, मोहम्मद रिजवान, इफ्तिखार अहमद, आगा सलमान, शादाब खान, मोहम्मद नवाज, शाहीन अफ्रिदी, नसीम शाह, हरिस रउफ।
भारतले ६ वर्षदेखि पाकिस्तानसँग एकदिवसीयमा हारेको छैन । यो पछिल्लो पटक २०१७ च्याम्पियन्स ट्रफीको फाइनलमा पराजित भएको थियो। त्यसपछि भारतले पाकिस्तानलाई दुई पटक एसिया कप २०१८ र एक पटक विश्वकप २०१९ मा पराजित गरेको छ । पछिल्लो १० खेलको कुरा गर्ने हो भने भारतले सात खेल जितेको छ । पाकिस्तानले तीन खेल जितेको छ । भारत पछिल्लो पटक सन् २०१४ मा भएको एकदिवसीय एसिया कपमा पाकिस्तानसँग पराजित भएको थियो ।
एकदिवसीय एसिया कपमा भारत र पाकिस्तान १३ पटक आमनेसामने भएका छन् । भारतले आफ्नो चिर प्रतिद्वन्द्वीमाथिको अग्रता कायम राखेको छ । उसले १३ मध्ये सात खेलमा जित हात पारेको छ भने पाकिस्तानले पाँचमा जित निकालेको छ । एउटा खेल भने नतिजाविहीन छ । भारत र पाकिस्तानबीच अहिलेसम्म १३२ ओडीआई खेलिएको छ । यस अवधिमा पाकिस्तानले ७३ खेल जितेको छ । भारतले ५५ खेल मात्र जितेको छ । चार खेलमा नतिजा आएको छैन ।