गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेटको उपाधि कास्कीलाई

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-२०
  • |
  • 629 पटक हेरिएको

पोखरामा सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगिता–२०८० को उपाधि कास्कीले जितेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा कास्कीले नवलपुरमाथि १८ रनको जित निकाल्दै एक लाखसहित ट्रफी पुरस्कार पायो । 

उपविजेता बनेको नवलपुरले रु ५० हजार पुरस्कार पायो । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा यही जेठ १४ गतेदेखि पोखरामा प्रतियोगिता सञ्चालन भएको हो ।

फाइनल खेलमा नवलपुरले टस जितेर कास्कीलाई ब्याटिङको निम्तो दिएको थियो । कास्कीले निर्धारित २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १४२ रन बनायो ।

खेलमा अभिषेक थापाले २५ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै अविजित ३६ रनको योगदान दिएका थिए । सोहेल कुँवरले ३२ बलमा ३३ रन, किरण पौडेलले २१ र कृष्ण पौडेलले व्यक्तिगत १० रन बनाए ।

नवलपुरबाट अपराजित पौडेलले तीन, कैलाश पगेनीले दुई तथा शिशिर भुसाल र विशाल पौडेलले समान एक/एक विकेट लिए  । खेलमा जितका लागि १४३ रनको लक्ष्यका साथ मैदानमा उत्रिएको नवलपुर १२४ रनमा समेटिन पुग्यो ।

प्रतियोगिताको ‘म्यान अफ दी सिरिज’को उपाधि नवलपुरका अपराजित पौडलले प्राप्त गरे ।  प्रतियोगिताको उत्कृष्ट बलर नवलपुरका अपराजित पौडेल, बेष्ट ब्याट्सम्यान कास्कीका मुस्कान थापा बन्न सफल भयो ।  फाइनल खेलको म्यान अफ दि म्याच भने कास्कीका अभिषेक थापा बने ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरूलाई प्रतियोगिता संयोजक एवं प्रदेश खेलकुद परिषद्का कार्यकारी सदस्य ऋषिराम गौतम, कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देललगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा कास्की, तनहुँ, नवलपुर, गोर्खा, पर्वत, स्याङ्जा, बागलुङ र म्याग्दी गरी आठ जिल्लाको सहभागिता थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey