नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभा काठमाडौंमा बुधबार हुँदै छ । चुनावी साधारणसभाको तयारी पूरा भएको नेपाल भलिबल संघले जनाएको छ । देशभरका सवै जिल्लामा संगठन रहेको भलिबल संघको २ वर्ष अघि नै चुनाव हुनु पर्ने थियो ।
खेलकुद विकास ऐन र कोरोना महामारीका कारण समयमा चुनाव भएन । अहिले सवै प्रक्रियाहरु सहज भएको भन्दै नेपाल भलिबल संघको चुनावी साधारणसभा गर्न लागिएको हो । १३३ प्रतिनिधिले मतदान मार्फत ४ वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छन् । नेपालको राष्ट्रिय खेल भएर पनि भौतिक पूर्वाधार नभएको भलिबल संघको नेतृत्व लिनका लागि अहिले देखिएका अनुहारहरुको एउटै प्रतिवद्धता भौतिक पूर्वाधार निर्माण गर्नु नै रहेको छ ।
चुनावमा अहिलेसम्म जीतेन्द्रबहादुर चन्द र निरोज मास्केले अध्यक्षमा दावी गरेका छन् । मास्के वर्तमान कार्यसमितिको उपाध्यक्ष हुन् । यसैगरी चन्द महासचिव भएर संस्थालाई नेतृत्व प्रदान गरेका छन् । अहिले अन्तर्राष्ट्रिय रुपमा सेन्ट्रल जोनको कोषाध्यक्ष रहेका चन्दले आफूले नेतृत्व लिन पाएमा भलिबल खेल्ने कर्भडहल देखि संघको कार्यालयका लागि भवन निर्माण गर्ने बताउँदै आएका छन् ।
मास्केले पनि भलिबलको विकासका लागि आफूले कसैसँग सम्झौता नगर्ने बताउँदै आएकी छिन् । भलिबल देशका सवै ठाउँमा खेलिने खेल भएकाले यसको क्रेज बढ्दो नै छ । त्यसैले अब आउने नेतृत्वले यसमा ध्यान दिएर पूर्वाधार निर्माणदेखि खेलाडीहरुको सेवा सुविधासम्म ध्यान दिएर अघि बढ्नु पर्नेमा चुनावी साधारणसभामा आएका प्रतिनिधिहरु बताउँछन् ।
चुनावी साधारणसभाले अहिले २५ जनाको निर्वाचन गर्ने छ । संघीय संरचना अनुसार पहिलो पटक निर्वाचन गर्न लागिएकाले बन्द सत्रले विधान पनि पारित गर्नुपर्ने छ । विधान अनुसार १ अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, ७ सचिवत र ११ सदस्य पदमा निर्वाचन हुने छ । विधानमा उपाध्यक्ष र सदस्य थप मनोनित गर्ने व्यवस्थ पनि राखिएको छ । यस्ता संघमा अध्यक्ष पछि सांगठनिक र प्रशासनिक जिम्मेवारी महासचिवको हुन्छ । महासचिव पदमा पनि अहिलेसम्म २ जनाले उम्मेदवारी घोषणा गरेका छन् । जीतेन्द्रबहादुर चन्दको समूहबाट वर्तमान कार्यसमितिमा सदस्य रहेका रोशन श्रेष्ठ र निरोज मास्केको समूहबाट मनबीर छन्त्याल ।
चन्द समूहबाट महासचिवमा उम्मेदवारी घोषणा गरेका श्रेष्ठ लामोसमय देखि भलिबलको विकासमा केन्द्रीत भएका व्यक्ति हुन् । २०४१ सालसम्म सक्रिय भलिबल खेलाडी रहेका श्रेष्ठ पहिलो पटक २०६४ सालमा नेपाल भलिबल संघमा प्रवेश गरेका थिए । भोजपुरको दावाका श्रेष्ठ जिल्लाको टिममा रहँदा कप्तान भएर पूर्वाञ्चलका १६ जिल्लामा उत्कृष्ट खेलाडी पनि भएका थिए । पुल्चोक इन्जिनियरिङ क्याम्पसको भलिबल कप्तान रहेका उनी त्यतिबेला पनि उत्कृष्ट खेलाडी भए वापत स्कलरसीप पनि प्राप्त गरेका थिए । २०४१ सालमा जुम्लामा भएको १२ औं राष्ट्रिय भलिबल प्रतियोगितामा साविकको लुम्बिनी अञ्चलबाट खेले पछि उनले भलिबल खेल भने छाडे । त्यसपछि उनी आफ्नो जागिरे करियर सुरु गरे ।
२०६२ सालमा राष्ट्रिय खेलकुद परिषद राखेपले गंगाबहादुर थापाको नेतृत्वमा भलिबल संघको तदर्थ समिति बनाउँदा उनी सदस्य थिए । २०६४ सालको अधिबेशनले थापालाई नै अध्यक्षमा अनुमोदन गर्दा श्रेष्ठ सर्वाधिक मत ल्याएर विजयी भए । त्यतिबेला श्रेष्ठ र नवलपरासीका श्रीधर शर्माले सर्वाधिक ८६–८६ मत ल्याएका थिए । २०६८ सालमा दानबहादुर तामाङ अध्यक्ष बन्दा पनि श्रेष्ठ कार्यसमिति सदस्यमा रहेका थिए । २०७३ सालमा वर्तमान अध्यक्ष मनोरञ्जन रमण शर्माले नेतृत्व गर्दा पनि श्रेष्ठलाई उचित जिम्मेवारीका साथ सदस्यमा मनोनित गरेका थिए ।
नेपाली भलिब संघमा झण्डै २ दशक पूरा गर्न लागेका श्रेष्ठले आफ्नै जोड बल र सहयोगमा जन्मस्थलको नाम चिनाउने उद्देश्यले दावाँली मिलन क्लबलाई राष्ट्रिय भलिबल प्रतियोगितामा पनि सहभागीता गराउँदै आएका छन् । नेपालमा कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा स्पोन्सर जुटाउनेदेखि टिमको तयारी र अन्य व्यवस्थापनमा समेत खट्दै आएका श्रेष्ठको मिलनसार व्यवहारका कारण पनि भलिबल संघको महासचिवमा उनलाई स्वभाविक दावेदार मानिएको छ ।
उनले आफू महासचिव भए पहिलो प्राथमिकता अफिस व्यवस्थापन गर्ने र राष्ट्रिय खेल भएकाले सरकारले सहसचिवस्तरको कर्मचारी व्यवस्था गर्नुपर्ने मागमा आफ्नो जोडदार लविङ हुने बताउँछन् । उनले सातै प्रदेशमा क्षेत्रीय प्रतियोगिता सञ्चालन गर्न सकिने कर्भडहल निर्माण सुरु गराउने योजना पनि अघि सार्छन् ।

राष्ट्रिय खेल भएर पनि भलिबलको अन्तर्राष्ट्रिय स्तरको कर्भडहल नभएकाले कम्तिमा ५ हजार दर्शक क्षमताको कभर्डहल, ट्रेनिङ सेन्टर, खेलाडीका लागि बसोवास गर्ने होस्टल लगाएतका संरचना निर्माण गरिनुपर्नेमा जोड दिएका छन् । उनले आफू महासचिव भएमा यी कुराहरुमा आफ्नो विशेष ध्यान जाने बताउँदै पनि आएका छन् ।
राष्ट्रिय खेल भएकाले ७५३ वटै पालिकामा भलिवलको विस्तारका लागि विशेष पहल हुने र सँगसँगै कर्पोरेट सेक्टरलाई पनि भलिबल खेल प्रति आकर्षित गर्ने योजना पनि आफूसँग रहेको महासचिवका उम्मेदवार श्रेष्ठले बताए । खेलाडीहरुलाई वर्षभरी नै व्यस्त बनाउने र यसले भविष्यमा राष्ट्रिय टिमले नतिजा दिने भएकाले यसतर्फ संघको बिशेष ध्यान दिने बताए ।
के प्यानल नै बनाएर चुनाव लड्न लाग्नु भएको भन्ने हाम्रो जिज्ञाषामा श्रेष्ठले प्यानल भन्दा पनि काम गर्न सक्ने टिम आउनु पर्नेमा आफूहरु एकमत भएको बताए । ‘यहाँ कसले जित्ने या कसले हार्ने भन्दा पनि समग्र भलिबलको जीत हुन आवश्यक रहेको छ ।’ उनले भने ।
