क्यानको बार्षिक साधारणसभा फागुन १३ र १४ गते धनगढीमा
-
नेप्लेज
- |
- २०७८-१०-१३
- |
- 1235 पटक हेरिएको
नेपाल क्रिकेट संघ क्यानको बार्षिक साधारण सभा फागुनमा हुने भएको छ । क्यानको बिहीवार बसेको बोर्ड बैठकले फागुन १३ र १४ गते धनगढीमा साधारणसभा गर्ने निर्णय गरेको हो । यसअघि पुस १४ र १५ गते सोही ठाउँमा तय भएको साधारणसभा कार्यकाल पुरा भएका जिल्लाको अधिवेशन हुनुपर्ने भन्दै आवाज उठेपछि स्थगित गरिएको थियो । यसबीचमा २० जिल्लाको अधिवेशन सम्पन्न भइसकेकाले फागुन १३ र १४ गते धनगढीमै साधारणसभा गर्ने निर्णय रुपन्देहीमा बसेको क्यानको बोर्ड बैठकले गरेको हो ।
यसैगरी क्यानले संघका अध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वमा ५ सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरेको छ । समितिमा कार्यबहाक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन कुमार सिंह, सदस्य दुर्गाराज पाठक र पदमबहादुर खड्कालाई राखिएको छ ।
यस्तै, यसअघि अनुशासनको कारबाहीमा परेका खेलाडीहरुको कारबाही पनि फिर्ता लिने निर्णय गरेको छ । क्यानले अनुशासनको कारबाही गर्दै तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई कारबाही गरेको थियो । मल्ल र ऐरीको कप्तान र उपकप्तान पद खोस्दै ६ महिना केन्द्रीय सम्झौतामा समावेश नगर्ने निर्णय गरेको थियो ।
तर खेलाडी र चौतर्फी राजनीतिक दवावका कारण यो निर्णय फिर्ता लिन क्यान बाध्य भएको हो । क्यानले त्यतिबेला गरेको कप्तान परिवर्तनको निर्णय भने फिर्ता लिएको छैन । यस्तै क्यानले केन्द्रीय सम्झौतामा नभएपनि पछिल्लो ओमान भ्रमणका गएका विक्रम सोब, गुलसन झा र रोहित कुमार पौडेललाई प्रोत्साहन भत्ता स्वरुप जनही १ लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ ।
खेलाडीकाे वर्गिकरणमा क्यान लचक, साेमपाल ए श्रेणीमा
यसैगरी महिला क्रिकेट खेलाडी ज्योति पाण्डेलाई प्रोत्साहन भत्तास्वरुप ५० हजार दिने निर्णय पनि गरेको छ । अहिले घाइते भएर टिमभन्दा बाहिर रहेका क्रिकेटर ललित नारायण राजवंशीको उपचारका लागि १ लाख ५० हजार सहयोग गर्ने निर्णय पनि क्यानको बोर्ड बैठकले गरेको छ । यस्तै आर्थिक समितिको संयोजकमा कोषाध्यक्ष रोशन कुमार सिंह, छनोट समितिको संयोजकमा दीपेन्द्र चौधरी, प्राविधिक समितिको संयोजकमा वीरेन्द्र बहादुर चन्द, प्रतियोगिता समितिको संयोजकमा माधव कर्माचार्य, क्रिकेट समितिको संयोजकमा केलाश विष्टलाई मनोनयन पनि बोर्ड बैठकले गरको छ ।
यसैगरी पोखरा, भैरहवा, धनगढी मैदानका लागि दुई दुई जना र जनकपुर र सप्तरी क्रिकेट मैदानका लागि एक एक जना कर्मचारी पनि नियुक्त गर्ने निर्णय गरेको छ ।