न्यूजिल्याण्डविरुद्धको टी २० सिरिज भारतको पोल्टामा

  • Image नेप्लेज
  • ३ मंसिर २०७८, शुक्रवार
  • 1666 पटक हेरिएको
न्यूजिल्याण्डविरुद्धको टी २० सिरिज भारतको पोल्टामा

टी २० विश्वकप विजेता न्यूजिल्याण्डविरुद्धको टी २० सिरिज भारतले जितेको छ ।

३ म्याचको टी २० मा भारत २–०ले अघि रहँदै एक खेल बाँकी हुँदै सिरिज जितेको हो । पहिलो टी २० मा ५ विकेटको जीत हात पारको भारतले शुक्रबार राँचीमा भएको दोस्रो टी २० म्याच ७ विकेटले जीत हात पार्न सफल भयो ।

न्यूजिल्याण्डले दिएको १५४ रनको लक्ष्य भारतले १७।२ ओभरमा मात्र ३ विकेट गुमाएर पुरा गरेको थियो । भारतलाई जिताउनका लागि रोहित शर्मा र केएल राहुलले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरेका थिए । राहुल ६५ रन बनाएर आउट भए । ४९ बल खेल्दा २ छक्का र ४ चौका प्रहार गर्दै आउट भएका थिए । राहुललाई टिम साउथीले पभेलियन पठाएका थिए ।

त्यसपछि रोहितसँग मिलेर बैंकटेस अय्यरले पारि अघि बढाएका थिए । अर्का ओपनर रोहित दोस्रो विकेटको रुपमा आउट भएका थिए । रोहित पनि अर्धशतक बनाएर पभेलियन फर्कदा उनको व्याटबाट व्यक्तिगत ५५ रन निस्किएको थियो । 

रोहितले ५५ रन बनाउँदा ५ छक्का र १ चौका प्रहार गरे । लगत्तै क्रिजमा आएका सूर्यकुमार यादव १ रन बनाएर पभेलियन फर्किएका थिए । अय्यर र ऋषभ पन्त मिलेर न्यूजिल्याण्डविरुद्ध भारतलाई ७ विकेटको जित दिलाए । अय्यर र पन्त समान १२–१२ रनमा नटआउट रहे । लगातार पन्तले दुई छक्का प्रहार गरेपछि भारत १७।२ ओभरमा मात्र ३ विकेट गुमाएर १५५ रन बनाउँदै जीत दर्ता गर्न सफल भयो ।

पहिला व्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५३ रन बनायो । उसका लागि मार्टिन गप्टिल र डेरियल मिचेलले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरे । पहिलो विकेटकोरुपमा गप्टिल आउट भएका थिए । उनले १५ बल फेस गर्दा २ छक्का र ३ चौका प्रहार गरे ।

दोस्रो विकेटको रुपमा मार्क चापमन आउट भए । उनले २१ रन बनाउँदा १७ बल फेस गरेर ३ चौका प्रहार गरेका थिए । उनी आउट हुँदा न्यूजिल्याण्डको स्कोर ८।५ ओभरमा २–७९ रन रहेको थियो ।

टिमको स्कोर ९० रन भएका बेला ओपनर डेरियल मिचेल आउट भए । उनी ३१ रन बनाएर आउट हुँदा २८ बल फेस गरे ।
ग्लेन फिलिपले ३४ रनको योगदान गरे । उनले २१ बल फेस गर्दा ३ छक्का प्रहार गरे भने उनको नाममा १ चौका रह्यो । यसैगरी टिम सेफर्टले १३ रन बनाउँदा जेम्स निसम ३ रन जोडेर आउट भएका थिए ।
मिचेल सेन्टनर र एडम मिल्न क्रमश ८ र ५ रनमा नटआउट रहे । भारतका हर्सल पटेलले २ विकेट लिए ।