साफको क्लव च्याम्पियनसिप हुने, एक महिनामा बार्षिक क्यालेन्डर सार्वजनिक गरिने
- नेप्लेज
- |
- २०७८-०७-०१
- |
- 5524 पटक हेरिएको
हाइलाइट्स
- अर्को संस्करणको साफ च्याम्पियनसिपको मिती र स्थानपनि सोहि क्यालेन्डरमा राखिने भएको छ ।
दक्षिण एशियाली फुटबल महासंघले अबको एक महिनामा बार्षिक क्यालेन्डर बनाएर त्यो अनुरुप प्रतियोगिता गर्ने भएको छ । माल्दिभ्समा बसेको साफको कंग्रेशले एक महिनामा आफ्नो क्यालेन्डर बनाउने र त्यसमा पहिलो पटक साफका क्लब च्याम्पियनसिपलाई समावेश गर्ने निर्णय गरेको छ ।
यो प्रतियोगिता कहिले हुने भन्ने विषयमा साफले क्यालेन्डरमा मिती तय गर्ने भएको छ । यसका साथै अर्को संस्करणको साफ च्याम्पियनसिपको मिती र स्थानपनि सोहि क्यालेन्डरमा राखिने भएको छ ।
यो पटकको साफ बंगलादेशमा गर्ने भनिएपनि अन्तिम समयमा माल्दिभ्समा सरेको थियो । साफ गर्नका लागि नेपाल र श्रीलंकाले चासो देखाएपनि अन्तिममा माल्दिभ्सले जिम्मा पाएको थियो ।
अब साफले बार्षिक रुपमा गर्ने कार्यक्रमलाई योजनाबद्ध रुपमा अगाडी बढाउने भएको छ । क्लव च्याम्पियनसिपमा हरेक देशका लिग च्याम्पियनले भाग लिन पाउने भनेर प्रारम्भिक छलफल भएको छ ।
सो कंग्रेशमा फुटबलको विकाशका लागि कसरी अगाडी बढ्ने भन्नेमा पनि छलफल भएको थियो । अहिले नेपालको लिग च्याम्पियनले एएफसी कपमा सहभागिता जनाउने मौका पाउने गरेको छ । तर पछिल्लो पटक एएफसीले क्लव लाइसेन्सको नियम लागु गरेपछि नेपाली क्लवलाई केहि कठिन भएको छ ।
तर अब साफ क्लव च्याम्पियनसिप सुरु भएपनि नेपाली क्लवले अर्को प्रतियोगितापनि खेल्ने मौका पाउने भएका छन । यो प्रतियोगिता सबै देशको लिग सकिएपछि गरिने योजना छ । नेपालका ए डिभिजन लिग कार्तिक २९ गतेबाट सुरु हुँदैछ ।