खुकुरी कप क्रिकेट क्रिकेटमा आर्मी र ग्रेट हिमालयको जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१७
  • |
  • 409 पटक हेरिएको

माघ १७, काठमाडाै‌ं । भूपेन्द्र थापाले शतकीय पारी खेलेपछि काठमाडौंमा जारी खुकुरी कप क्रिकेटको समूह सी त्रिभुवन आर्मी क्लवले पहिलो जित दर्ता गरेको छ ।

मूलपानी क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको आर्मीले निर्धारित ओभरमा २ विकेट गुमाएर २३६ रनको बिशाल स्कोर बनायो । उसका लागि भूपेन्द्र थापाले ६६ बलमा १०३ रनको अविजित शतकीय पारी खेले । उनले आफ्नो पारीमा ६ चौका र ६ छक्का प्रहार गरे ।

उनका अलावा आर्मीका इन्द्रकमल मानन्धरले पनि ४० बलमा १२ चौका र ४ छक्काको सहयोगमा ८५ रनको शानदार पारी खेले । त्यस्तै विकेटकिपर राजु रिजालले २० तथा राहुलकुमार बिकले अविजित १५ रन बनाए ।

२३७ रनको लक्ष्य पछ्याएको ओइसिस १८.२ ओभरमा १०३ रनमै समेटिएपछि आर्मीको १३३ रनको जित सम्भव भयो । ओएसिसका ओपनर शुसान कार्की र अभिनाश सिंहले क्रमसः १७ र २१ रन बनाए पनि अन्यको प्रदर्शन कमजोर रह्यो । बलिङतर्फ आर्मीका अभिनाश बोहोराले ४ तथा लोकेन्द्र चन्दले ३ विकेट लिए ।

अर्को खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल क्रिकेट स्कुललाई २९ रनले हरायो । टस हारेर पहिले ब्याटिङ गरेको ग्रेट हिमालयले २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनायो । उसका लागि इशान पाण्डेले सर्बाधिक ६७ तथा अरुण ऐरीले ५१ रनको अर्धशतकीय पारी खेले ।

१८० रनको लक्ष्य पछ्याएको नेपाल क्रिकेट स्कुलले २० ओभरमा ८ विकेट गुमाएर १५० रनमात्र बनाउन सक्यो । ओपनर जोडी कप्तान जितेन्द्र सिंह ठकुरीले ३० र रबी शाहले ३७ रन जोडेर राम्रो सुरुवात दिए पनि अन्यको प्रदर्शन सन्तोषजनक नरहँदा २९ रनको हार ब्यहोर्न बाध्य भयो ।

बलिङतर्फ ग्रेट हिमालयका रुपेश श्रीवास्तवले ३ तथा इशान पाण्डेले २ विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey