वनदेवी युवा क्लबलाई सुदूरपश्चिम राजधानी कपको उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२८
  • |
  • 408 पटक हेरिएको

धनगढी, २८ चैत । कैलालीको अत्तरियामा भएको जिआईसी सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको उपाधि वनदेवी युवा क्लबले जितेको छ । पिएफए स्पोर्टस क्लब अत्तरियाको आयोजनामा भएको दोस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिताको उपाधि अत्तरियाकै वनदेवी युवा क्लबले जितेको हो ।

शनिबार अत्तरियामा भएको फाईनल खेलमा वनदेवी युवा क्लबले माउण्ट एभरेष्ट युवा क्लबलाई १–० ले हराएको हो । खेलको निर्णायक एक मात्रै गोल चेतमान कडायतले गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएकोमा दोस्रो हाफको ३ औं मिनेटमा चेतमानले गोल गरेका थिए । उपाधि जिताउन गोल गरेका चेतमान फाईनलका म्यान अफ द म्याच भए । उनले नगद २ हजार सहित ट्रफी र मेडल प्राप्त गरे ।

वनदेवी युवा क्लबले उपाधिसँग नगद ४ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता भएको माउण्ट एभरेष्ट युवा क्लबले नगद २ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडी वनदेवी युवा क्लबका दिपेन्द्र मलासी भए । उनले नगद १५ हजार सहित ट्रफी र मेडल प्राप्त गरे ।

यस्तै प्रतियोगितामा वनदेवी युवा क्लबका धनवहादुर थापा उत्कृष्ट रक्षक, वनदेवीकै टेकेन्द्र थापा उत्कृष्ट गोलरक्षक, वनदेवी युवा क्लबकै तेतमान कडायत उत्कृष्ट फरवार्ड, वनदेवीकै नरेन्द्र रावत उदयमान खेलाडी र माउण्ट एभरेष्ट युवा क्लबका गणेश बुढाथोकी उत्कृष्ट मिडफिल्डर भए । विभिन्न विधाहरुका उत्कृष्ट खेलाडीहरुले जनही समान १०÷१० हजार रुपैया सहित ट्रफी र मेडल प्राप्त गरे ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमका बीच पुरस्कार वितरण गरिएको छ । आयोजक पिएफए स्पोर्टस् क्लबका अध्यक्ष योगेश भट्टको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी रहेका थिए । कार्यक्रममा सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपकबहादुर सिंह, अखिल नेपाल फुटबल संघका महासचिव ईन्द्रमान तुलाधर, किर्तिमानी खेलाडी दिपक बिष्ट लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

गोदावरी नगरपालिका वडा नम्बर ३ मा रहेको मालिका खेल मैदानमा भएको प्रतियोगितामा १२ ओटा टिमको सहभागिता रहेको थियो । सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी गोदावरी घोषणा भएपछि राजधानी कार्यान्वयनको लागि दबाब सिर्जना गर्नका लागि सुदुरपश्चिम राजधानी कप दुई बर्षदेखि आयोजना हुदैं आएको छ । दोस्रो संस्करणको सुदुरपश्चिम राजधानी कपलाई जनरल ईन्सुरेन्स कम्पनी नेपालले मुख्य प्रायोजन गरेको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey