सिताकाे अर्धशतकमा एपीएफकाे प्रदेश एकविरूद्ध ८ विकेटकाे जित

Kelmi

  • नेप्लेज
  • |
  • २०७७-१२-२१
  • |
  • 634 पटक हेरिएको

ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा उपाधिको प्रमुख दावेदार टिम एपीएफले विजयी सुरुवात गरेको छ । एपीएफले उद्घाटन खेलमा प्रदेश एक महिला टिमलाई ८ विकेटले हरायो ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६ रन बनायो ।

उसका लागि कप्तान रुवीना क्षेत्रीले सर्वाधिक ४५ रन बनाइन भने रोमा थापाले ३३ रनको योगदान गरिन । तर बाँकी खेलाडी सस्तैमा आउट भए ।

जसमा काजल श्रेष्ठले पाँच रन बनाउँदा निग्मा तामाङले सात तथा निशा शाहले पाँच रनको योगदान गरिन । बलिङमा रेखा रावल, करुणा भण्डारी, सिता रानामगर र विन्दुल मगरले एक एक विकेट लिए ।

जवाफमा एपीएफले १८ ओभरमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

उत्कृष्ट सुरुवात गरेको एपीएफका लागि ओपनरद्वय ज्योती पाण्डे र सिता रानामगरले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेको थियो । तर पाण्डे ३२ रनमा आउट भएपछि एपीएफले पहिलो विकेट गुमायो । त्यसपछि सरिता मग ब्यक्तिगत ६ रनमा आउट भएपछि एपीएफले ९० रनमा दोस्रो विकेट गुमायो ।

एपीएफका लागि सिताले अविजीत ५२ रन बनाइन । उनले ४९ बलमा अर्धशतक पुरा गरिन । जारी प्रतियोगिताको पहिलो खेलमा नै सिताले अर्धशतक बनाउन सफल भइन । यो क्रममा उनले सात चौका प्रहार गरिन । यस्तै इन्दु बर्मा आठ रनमा अविजित रहिन ।

बलिङमा रविना क्षेत्री र संगिता राईले एक एक विकेट लिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey