डीपीएलको मिति नजिकिँदै, स्थानीयदेखि अन्तर्राष्ट्रिय खेलाडी उत्साहित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१४
  • |
  • 160 पटक हेरिएको

चैत्र १४ । नेपालकै सर्वाधिक पुरस्कार राशि भएको क्रिकेट प्रतियोगिता धनगढी प्रिमियर लिग चैत १७ गते अर्थात शनिबारबाट धनगढीमा सुरु हुँदैछ ।

सिटी अफ क्रिकेट उपनाम पाएको धनगढीमा अन्तराष्ट्रिय स्तरका खेलाडी ल्याएर क्रिकेट प्रतियोगिता गर्न लागिएको यो पहिलो पटक हो ।

प्रतियोगिताको तयारी लगभग पुरा भएको छ भने मैदानलाई नयाँ स्वरुप दिइएको छ । प्रतियोगितामा सहभागि ५ वटा टिमले तयारी सुरु गरिसकेका छन भने विदेशी खेलाडी पनि अनुबन्ध गरिसकेका छन ।

लगानीकर्ताको उत्साह

धनगढीका स्थानीयको सहयोगमा अघिल्ला संस्करणसम्म आयोजकलाई प्रायोजक खोज्न निकै कठिन हुने अवस्था थियो । तर राष्ट्रिय खेलाडीमात्र नभई विदेशी खेलाडी नै प्रतियोगितामा सहभागिता जनाउने भएपछि डिपिएलको दायर निकै फराकिलो हुनुका साथै लगानीकर्तापनि उत्साहित भएका छन ।

स्थानिय स्तरमा पनि ठुलो प्रतियोगिता आयोजना धनगढीका हरेक ब्यापारीले सक्ने सहयोग गरेका छन् । करीव ३ करोड रुपैयाँ लागत रहेको यो प्रतियोगितामा केन्द्रिय स्तरका प्रायोजकले ठुलो लगानी गरेका छन् ।

खेलको टिकटका लागि इसेवाले प्रायोजन गरेको छ, यस्तै पहिलो पटक गोल्डस्टारले गोल्डेन बुट दिने निर्णय गरेको छ । यस्तै जगदम्बाको जगशक्तिले १० लाख रुपैयाको प्रायोजन गरेको छ भने इसेवाले निसुल्क टिकट विक्रि गर्नुका साथै उल्टो आयोजकलाई साढे ३ लाख रुपैयाँ दिएको छ ।

यस्तै गोल्डस्टारले पनि प्रायोजन रकम बढाएर १० लाख रुपैया पुर्याएको छ भने अफिसियल इयरलाइन्स बनेको श्रीइयरलाइन्सले पनि १० लाखको प्रायोजन गरेको छ ।

मुख्य प्रायोजक रुस्लानाले डिपिएललाई २५ लाख रुपैया उपलब्ध गराउने छ । तर यो रकम केहि प्रतिशत जिन्सीमा हुनेछ । यस्तै क्यानकी पूर्व सिईओ भावना घिमिरेको कम्पनी आइफिल्क्सले पनि रकम दिएको छ ।

टिम मालिकलाई चुनौती

डिपिएलका लागि ६ टिम मालिकले करीव ४० लाख रुपैयाँ खर्च गरेर टिमलाई प्रतियोगितामा सहभागिता गराउँदैछन् ।

लाखौ रुपैया खर्च गरेर बलियो टिम बनाउनु आयोजकका लागि ठूलो चुनौती छ । त्यसमा पनि प्रायोजक देखि टिम ब्यवस्थापन गर्न अझ गार्हो काम हो । देशका ठुला ब्यवसायीले क्रिकेटमा लगानी गर्न कन्जुस्याईं गरिरहेका बेला स्थानिय ब्यापारीले यो प्रतियोगिताका लागि खुला दिलले लगानी गरेका छन् ।

गत सस्करणको डिपिएल जितेपछि अझ हौसिएको यी लगानीकर्तामा क्रिकेटप्रतिको चाहना थप बढेको हो । पुर्वाधारका हिसावले पनि पछाडी रहेको धनगढीमा यति ठूलो प्रतियोगिता गर्नु आफैमा गर्वको विषय हो । त्यहि भएर पनि प्रतियोगिताको मिति तोकिएदेखि नै स्थानीयवासीमा उत्साह थपेको छ ।

सिटी अफ क्रिकेटको उपनाम पाएको धनगढीमा डिपिएललाई भब्य पार्न जुन किसिमको सहयोग स्थानीयदेखि ठूला ब्यापारीले गरेका छन, त्यसले नेपाली क्रिकेट ब्यवसायिक बाटोमा अगाडी बढदैछ भन्ने प्रस्ट्याएको छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey