युनिभर्सिटी कप क्रिकेटमा डीएभी र न्यू समिटको विजयी सुरुआत

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२५
  • |
  • 165 पटक हेरिएको

फागुन २५, काठमाडौं । युनिभर्सिटी कप टि–२० क्रिकेटको दोस्रो संस्करण शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ । उदघाटन खेलमा डिएभी कलेजले टियू बी टिमलाई ५४ रनले हराउँदै विजयी सुरुआत गरेको छ ।

शुक्रबारै भएको दोस्रो खेलमा न्यू समिट कलेजले बोन कलेजलाई ६ विकेटले पराजित गरेको छ ।

उदघाटन खेलमा टस हारेर पहिले ब्याटिङ गरेको डीएभीले अदिल खानको ८० रनको सहयोगमा निर्धारित ओभरमा ५ विकेट गुमाएर १६६ रन बनाएको थियो । डीएभीका लागि सुधीर चौधरीले पनि २९ रन बनाएका थिए । बलिङमा टियू बी का दिपेन्द्र बहादुर चन्दले ३ विकेट लिए ।

जवाफमा टियू बीले ५ विकेट गुमाएर ११२ रनमात्र बनाउन सक्यो । उसका लागि महेश क्षेत्रीले २६ तथा बिरेन्द्र सिंह कार्कीले अविजित २८ रन बनाए । बलिङतर्फ डीएभीका सञ्जय बस्नेतले ३ विकेट लिए । डीएभीका अदिल खान म्यान अफ द म्याच चुनिए ।

अर्को खेलमा टस जितेर ब्याटिङ गरेको बोन कलेजले १७.२ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनायो । उसका लागि न्यीमा छिरिङले ३७ रन बनाउनुबाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् । उसले १९ अतिरिक्त रन पाएको थियो । बलिङमा न्यू समिटका जन्मेजय यादवले ३ तथा शरद खड्काले २ विकेट लिए ।

८७ रनको लक्ष्य न्यू समिटले १० ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । उसका लागि शुभम अग्रवालले ३० तथा मिलन क्षेत्रीले २० रन बनाए । उसले अतिरिक्त १८ रन पाएको थियो । बलिङमा बोनका सेटप क्यापले २ विकेट लिए ।

यसअघि प्रतियोगिताको उदघाटन सांसद तथा एमाले नेता प्रदीप ज्ञवालीले गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey