पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-१८
  • |
  • 483 पटक हेरिएको

काठमाडौं, असार १८ गते । पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा मंगलबार ४ नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । चारै कीर्तिमान पुरुषको स्पर्धामा बनेको हो । चारमा दुईले आफ्नै नाममा रहेको कीर्तिमान सुधारे भने दुई खेलाडीले अरुको कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ७२ केजीमाथि बागमती प्रदेशका आशिष मानन्धरले १४५ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । उनकै नाममा १३० केजीको कीर्तिमान थियो । कर्णाली प्रदेशका किरणकिशोर सापकोटा दोश्रो तथा कोशी प्रदेशका सुपर राई तेश्रो  भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ५९ केजीमा सुदूरपश्चिम प्रदेशका सुरेश विष्टले ८६ केजी तौल उठाउदै राष्ट्रिय कीर्तिमान बनाए । ८५ केजीको कीर्तिमान दीपक तिमल्सिनाको नाममा थियो । कोशीका सोमनाथ राई दोश्रो तथा बागमतीका मानबहादुर राना मगर तेश्रो बने ।

पुरुष ६५ केजीमा बागमतीका दीपक खड्काले १०१ केजी वजन उचाल्दै राष्ट्रिय कीर्तिमान कायम गरे । उनले ठाकुर श्रेष्ठको ९० केजीको कीर्तिमान भंग गरे । बागमतीका विरु ढुंगानाले रजत तथा लुम्बिनीका लक्ष्मण नेपालीले कांस्य प्राप्त गरे ।

पुरुष ५४ केजीमा बागमतीका ठाकुर श्रेष्ठले १०० केजी भार वहन गर्दै कीर्तिमानी स्वर्ण जिते । उनले आफ्नै नाममा रहेको ९० केजीको कीर्तिमानमा सुधार गरे । गण्डकी प्रदेशका पवन घर्ती मगर दोश्रो तथा बागमतीका दीपक तिमल्सिना तेश्रो स्थानमा रहे ।

पुरुष ४९ केजीमा बागमतीका मनीष पुन मगरले स्वर्ण चुमे । उनले ५० केजी वजन उठाए । कर्णालीका रुपलाल बस्नेतले रजत तथा कोशीका अजित खातीले कांस्य हात पारे । पुरुष ७२ केजीमुनि बागमतीका राजाराम सिलवाल पहिलो भए । उनले ८० केजी तौल उचाले । लुम्बिनीका नारायण तिमल्सिना दोश्रो तथा बागमतीका रामकाजी मगर तेश्रो  भए ।

विजेतालाई राखेपकी अध्यक्ष एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालका अध्यक्ष टेकबहादुर गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा मधेश बाहेक ६ प्रदेशका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा ६ र महिलामा ३ गरी ९ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey