अकल र जेनिशालाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-२०
  • |
  • 485 पटक हेरिएको

अकल तामाङ र जेनिशा कडायतले पारा तथा विशेष खेलकुदअन्तर्गत पारा पौडी प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । व्हीलचेयरतर्फ २५ मिटर फ्रि स्टायलको पुरुषमा अकल र महिलामा जेनिशा पहिलो भएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा पौडी संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगितामा अकलले निर्धारित दूरी पूरा गर्न १८.६७ सेकेन्ड खर्चे । विराज भाट दोश्रो तथा विष्णुपुकार श्रेष्ठ तेश्रो  भए । जेनिशाले निर्धारित दूरी तय गर्न ३४.४४ सेकेन्ड समय खर्चिन् । जुनु शाही दोश्रो तथा संगिता माझी तेश्रो बने ।

जोरपाटीस्थित पिस क्लबमा भएको प्रतियोगिताको पुरुष स्टेन्डिङ २५ मिटर फ्रि स्टायलमा हर्कमान घर्ती मगरले स्वर्ण जिते । उनले १९.३२ सेकेन्ड समय लगाए । लिङजेन लामाले रजत तथा रमेश खत्रीले कांस्य जिते । सो स्पर्धाको महिलामा डा. समना गैरे पहिलो भइन् । समनाले १९.८८ सेकेन्डमा दूरी तय गरिन् । मन्नु चौधरी दोश्रो तथा पार्वती खत्री तेश्रो भए ।

विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, राखेपकी सदस्य विना श्रेष्ठ, राष्ट्रिय पारा पौडी संघ नेपालका अध्यक्ष सरोज श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ३० खेलाडीले ४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको अघिल्लो दिन बुधबार ५० खेलाडीलाई प्रशिक्षण गराइएको थियो । प्रशिक्षणमा समावेश खेलाडी मध्येबाट प्रतियोगिताका लागि ३० खेलाडी छनोट गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey