शिवराज र निशालाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०३
  • |
  • 375 पटक हेरिएको

एपीएफका शिवराज पार्की र लुम्बिनीकी निशा चौधरीले तेश्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटको १ सय मिटर दौडमा सोमबार स्वर्ण जितेका छन्। शिवराज पुरुष र निशा महिलामा पहिलो भएका हुन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शिवले निर्धारित दूरी ११.० सेकेन्डमा तय गरे। नेपाल आर्मीका उपेन्द्र सुनार दोश्रो तथा नेपाल प्रहरीका अरुण महतो तेश्रो भए। निशाले निर्धारित दूरी तय गर्न १२.५ सेकेन्ड समय खर्चिन्। आर्मीका जयरानी थारु दोश्रो तथा सरस्वती चौधरी तेश्रो भए। एथलेटिक्स परिवार नेपालद्वारा आयोजित प्रतियोगिताअन्तर्गत हाइजम्पको पुरुषमा आर्मीका सूर्यबहादुर खत्री (१.७० मिटर) र महिलामा विन्दू थनेत (१.३८ मिटर), १० हजार मिटर दौडको पुरुषमा आर्मीका सञ्जय श्रेष्ठ (३२ मिनेट ०९.१ सेकेन्ड) र महिलामा आर्मीकी पूर्णलक्ष्मी न्यौपाने (४० मिनेट ४३.१ सेकेन्ड) तथा १ हजार ५ सय मिटर दौडको पुरुषमा प्रहरीका नागेश्वर ऐर (४ मिनेट १०.१ सेकेन्ड) र महिलामा प्रहरीकी सुमित्रा चौधरी (५ मिनेट ०१.९० सेकेन्ड) पहिलो भए।

त्रिपलजम्पको पुरुषमा आर्मीका डिल्ली खत्री (१३.८५ मिटर) र महिलामा प्रहरीकी सिमाकुमारी चौधरी (११.०० मिटर), ४ सय मिटर दौडको पुरुषमा आर्मीका प्रकाश दनुवार (४९.६१ सेकेन्ड) र महिलामा आर्मीकी सरस्वती थारु (६०.८१) सेकेन्ड, १ सय १० मिटर बाधा दौडको पुरुषमा आर्मीका जीवन थारु (१५.६३ सेकेन्ड), १ सय मिटर बाधा दौडको महिलामा आर्मीकी जयरानी थारु (१५.१६ सेकेन्ड) तथा डिस्कस थ्रोको पुरुषमा आर्मीका विनोद राई (३८.६७ मिटर) र महिलामा आर्मीकै अमृता महतो (३४.४६ सेकेन्ड) शीर्ष स्थानमा रहे।

भेट्रान पुरुषको ५ हजार मिटर दौडमा रेवनबहादुर दाहाल तथा महिलाको ३ हजार मिटर दौडमा काठमाडौंकी शर्मिला बस्नेत पहिलो बने।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे। ५२ स्पर्धा समावेश प्रतियोगितामा ५ सय ७५ खेलाडीको सहभागिता रहेको आयोजक एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जनाएका छन्। अध्यक्ष खत्रीका अनुसार नेपाली एथलेटिक्सको इतिहासमा सबै भन्दा बढी स्पर्धा समावेश गरिएको यो पहिलो प्रतियोगिता हो। मंगलबार सम्पन्न हुने प्रतियोगितामा भेट्रान बाहेक सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey