रमितको ह्याट्रिकमा बाह्रदेवीको सहज जित
- नेप्लेज
- |
- २०८१-०१-१३
- |
- 280 पटक हेरिएको
लामोसाँघु । रमित तामाङको ह्याट्रिक गोलमा बाह्रदेवी युवा क्लबले सिन्धुपाल्चोक जिल्ला लिगमा विजयी शुरूआत गरेको छ।
लामोसाँघुस्थित वसन्तपुर खेलमा बिहीबार भएको पहिलो खेलमा श्री राइजिङ यूथ क्लबलाई ३-० ले पराजित गरेको हो।
बाह्रदेवीको जितमा रमित तामाङ ह्याट्रिक पूरा गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रमितले तीनै गोल दोस्रो हाफमा गरेका हुन्। तुलनात्मक रूपमा बल पोजिसनमा राम्रो पकड जमाएको बाह्रदेवीले खेलमा स्कोर गर्न दोस्रो हाफ कुर्नु पर्यो।
जितसँगै समूह ‘बी’ मा रहेको बाह्रदेवीले ३ अंक जोडेर प्रतियोगितामा शानदार शुरूआत गरेको छ। श्री राइजिङले भने पराजयबाट प्रतियोगिताको शुरूआत गरेको छ।
यस्तै बिहीबार नै हुने दिनको दोस्रो खेलमा लामोसाँघु फुटबल क्लबले प्याराडाइज युवा क्लबको सामना गर्दै छ। यो खेल दिनको ठिक ३:३० बजेबाट शुरू हुनेछ।
जारी सिजनको लिगमा जिल्लाका १२ वटा क्लब सहभागी रहेका छन्। जसलाई ४ समूहमा विभाजन गरिएको छ।
लिगको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने महासचिव सुवास लामाले जानकारी दिए।
लिगको खेलहरू बैशाख १२ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ। १९ गते प्लेअफ, २० गते सेमिफाइनल र २२ गते फाइनल खेल हुनेछ। आयोजकका अनुसार लिगमा सहभागी हुने सबैको टिमको इन्स्योरेन्स गरिएको छ।