कोशीमाथि मधेशको रोमाञ्चक जित

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-११
  • |
  • 423 पटक हेरिएको

राजधानी काठमाण्डौमा संचालन भैरहेको पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत मंगलवारको दोस्रो खेलमा मधेश प्रदेशले कोशी प्रदेश माथी २ विकेटको रोमाञ्चक जित हात पारेको छ।

जितसंगै ५ खेलबाट ६ अंक बटुलेको मधेश प्रदेश तालिकाको तेस्रो स्थानमा छ भने आफ्ना ४ खेलमा सबै खेल गुमाएको कोशी तालिकाको पुछारमा रहेको छ। मंगलवार टस जितेर ब्याटिंग गर्ने निर्णय लिएको कोशीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्र बनाएको थियो।

समिर कार्कीले २८, सर्वन यादवले २७ र सुजन थपलियाले १६ रन बनाउन बाहेक कोशीका अन्य ब्याट्समेनले दोहोरो अंकमा रन जोड्न सकेका थिएनन। कसिलो बलिङ्ग प्रदर्शन गरेको मधेश प्रदेशले कोशीलाई कम योगफलमा रोक्न सफल भएको थियो। मधेशका लागि विशाल पटेल, अविशेक तिवारी, रंजित कुमार र प्रदिप पासवानले समान २/२ विकेट लिएका थिए।

जवाफमा ९१ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रिएको मधेश प्रदेशले दोस्रो ओभरको पाँचौ बलमा ओपनर शाहील पटेललाई व्यक्तिगत ११ रनको स्कोरमा गुमाएको थियो। तर खेलले नाटकीय मोड भने पाँचौं ओभरमा गएर लियो।

पाँचौ ओभर बलिङ्ग गरेका कोशीका सर्वन यादवले ओभरको दोस्रो बलमा मयन यादवलाई आउट गरे। लगत्तै तेस्रो बलमा राहुल मण्डल र चौथो बलमा अरनिको यादवलाई आउट गर्दै सर्वनले आफ्नो ह्याट्रिक पुरा गर्दा मधेश १८-४ को अवस्थामा पुगेको थियो।

सर्वनले सोहि ओभरको अन्तिम बलमा विशाल सुश्लिंगलाई पभेलियन तर्फको बाटो देखाउंदा कोशी खेलमा हावी बन्न पुग्यो। बलिङ्गवाट लगातार दवाव सृजना गरेको कोशी प्रदेशका लागि दिपेश कंडेलले आठौँ ओभरमा प्रदिप पाश्वानलाई समेत आउट गरे। २३-६ को अवस्थामा रहेको मधेशलाई चेजमा बनाएर राख्ने क्रममा ओपनर रोहन विक र विशाल पटेलले सातौँ विकेटका लागि ५९ रनको महत्वपुर्ण साझेदारी गर्दा मधेशको चेज लयमा फर्कियो।

३७ रन बनाएर ब्याटिंग गरिरहेका विशाल पटेललाई दिपेश कंडेलले आउट गर्दा कोशी प्रदेश पुन: खेलमा फर्किने प्रयासमा देखिएको थियो।

यद्यपि एक किनारबाट ओपनिङ्ग ब्याटिंग गर्न आएका रोहन विकले अविजित ३१ रन बनाउदै मधेशलाई १७ बल बाँकी रहंदा नै २ विकेटको जित दिलाए।

खेलको प्लेयर अफ दि म्याच मधेशका विशाल पटेल चुनिए। प्रतियोगिता अन्तर्गत बुधवार हुने पहिलो खेलमा गण्डकी र कर्णाली तथा दोस्रो खेलमा लुम्बिनी र सुदुरपश्चिम भिड्ने छन्।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey