तेक्वान्दो प्रशिक्षक अधिकारीलाई सांस्कृतिक सङ्घद्वारा सम्मान

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-०६
  • |
  • 181 पटक हेरिएको

नेप्लेज । नेपाली तेक्वान्दो प्रशिक्षक एवम् राष्ट्रिय रेफ्री जगन अधिकारीलाई राष्ट्रिय लोक सांस्कृतिक संघले सम्मान गरेको छ । 

युएईको दुबईमा एक कार्यक्रम आयोजना गरेर संघले युएईका पहिलो नेपाली तेक्वान्दो प्रशिक्षकसमेत रहेका अधिकारीलाई नेपाली तेक्वान्दोलाई विश्वस्तरमा चिनाउन पुर्‌याएको योगदानको कदर गर्दै सम्मान गरेको हो । अधिकारीलाई नेपाली समाजका संस्थापक उपाध्यक्ष एवम् समाजसेवी चन्द्रप्रसाद सापकोटा र नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्यालले सम्मान–पत्र तथा दोसल्ला ओडाई सम्मान गरेका हुन् । 

सम्मान गर्दै संस्थापक उपाध्यक्ष सापकोटाले युएईमा रहेहर आफ्नो कामका साथै युएई तेक्वान्दो संघको पहिलो राष्ट्रिय रेफ्री भएर नेपाल र नेपाली तेक्वान्दोलाई चिनाउनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । ‘पहिलो नेपाली राष्ट्रिय रेफ्रि बन्न सफल भएर विभिन्न देशका खेलाडी तथा अफिसियलहरुलाई खेलकुदको माध्यमबाट नेपाललाई चिनाउँदै आउनु भएको कुराले हामी सबै गौरवान्वित भएका छौं,’ सापकोटाले भने । 

त्यसैगरी कार्यक्रममा बोल्दै विशेष अतिथि दोलखाली समाजका अध्यक्ष सुनिलराज श्रेष्ठले सम्मान गर्न पाउँदा खुसी लागेको भन्दै यो लगनशीलताले आज बिदेसी भूमिमा सिङ्गो नेपाललाई प्रतिनिधित्व गर्दै नेपालको गौरव र प्रतिष्ठालाई अन्तर्राष्ट्रिय जगतमा समेत उच्च पार्न अहम् भूमिका निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्याल, दोलखाली समाजका अध्यक्ष सुनिलराज श्रेष्ठ, नुवाकोट सेवा समाज युएईका अध्यक्ष नवीन कार्की लगायत विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

अधिकारीले गत फेब्रुअरीमा विश्व तेक्वान्दोको आयोजना तथा यूएसए तेक्वान्दो र यूएसए ओलम्पिक कमिटीको संयोजनमा अमेरिकाको रेनो स्पार्क कन्भेन्सन सेन्टर रेनो नेभाडामा सम्पन्न भएको विश्व वरियता जी–२ २०२४ यूएस ओपन तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । तर कोरियाली खेलाडी सँग पराजय भोग्नु परेको थियो ।

विगत एक दशक देखि युएईमा रहेका अधिकारीले हाल युएईमा तेक्वान्दोको राष्ट्रिय रेफ्री तथा प्रशिक्षकको रूपमा कार्य गर्दै आइरहेका छन् । उनले अरबिक, कोरिएन, फिलिपिन्स लगायतका देशका खेलाडीहरूलाई प्रशिक्षण गराई रहेका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey