काठमाडौं महानगरपालिका र वुढानिलकण्ठ नगरपालिका फुटबलमा भिड्दै

फुटबल खेलको विकासका लागि महानगरपालिकाले योजना तर्जुमा गरिसकेको छ : प्रमुख साह

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०१-१९
  • |
  • 380 पटक हेरिएको

काठमाडौं । गोदावरीमा जारी उपत्यकाव्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा काठमाडौँ महानगरपालिकाबाट खेल्ने खेलाडीलाई प्रमुख बालेन्द्र साह (बालेन) ले उच्च मनोबलका साथ भाग लिन आग्रह गरेका छन् । ‘खेल खेल्नुअघि जितको आकांक्षा राख्नुपर्छ, खेल समापनपछिको नतिजालाई सहज रुपमा स्वीकार गर्नुपर्छ ।’ मंगलबार बेलुका छाउनीस्थित नेपाली सेनाको अभ्यास मैदानमा पुगेर खेलाडीहरुलाई हौसला प्रदान गर्दै मेयर साहले भने, ‘काठमाडौँको पहिचानमा खेल विधा सशक्त बन्न सक्छ भन्ने कुरा यहाँहरुको खेलले प्रमाणित गर्ने अपेक्षा गरेका छौँ ।’

खेलाडीहरुसँग खेल विकासका बारेमा कुरा गर्दै प्रमुख साहले, वडा नं. ५ को सानो गौचरण खेल मैदान, वडा नं. ३२ जडीवुटीमा रहेको मैदान स्तरोन्नति गर्ने प्रक्रिया अगाडि बढिसकेको बताए । यससँगै विभिन्न खुला ठाउँलाई फुटबल अभ्यास गर्न सक्ने बनाइने उहाँको भनाइ थियो । 

वैशाख १५ गते सुरु भएको खेलअन्तर्गत आज महानगरपालिकाको टीम र बुढानीलकण्ठ नगरपालिकाको टीमका बिचमा गोदावरी नगरपालिकाको चापागाउँ, ताहाखेल खेल मैदानमा प्रतिस्पर्धा हुनेछ । प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । खेलाडीहरुको व्यवस्थापन सामाजिक विकास विभाग र खेलकुद विज्ञ नविन चित्रकारले गरेका छन् ।

प्रतियोगितामा काठमाडौँ जिल्लाबाट काठमाडौँ महानगरपालिकासहित ९ वटा स्थानीय तहबाट ९ वटा टीमले भाग लिएको नगरपालिकाले जनाएको छ । ललितपुर जिल्लाका ४ वटा स्थानीय तहबाट ललितपुर महानगरपालिकासहित ५ वटा टीम र भक्तपुर जिल्लाबाट १ स्थानीय तहबाट १ वटा टीमको सहभागिता छ । 

हरेक खेलमा २० जना खेलाडी र ४ जना कार्यालयका अधिकारी गरी २४ जनाको सहभागिता हुनेछ । 

प्रतियोगिताको बिजेता टीमलाई नगद ५ लाख रुपैयाँ, उपविजेता टीमलाई नगद ३ लाख रुपैयाँ, अनुशासित टीमलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

उत्कृष्ट गोलकिपर, डिफेन्सर, फरवार्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई नगद २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

वैशाख २९ गते समापन कार्यक्रम हुनेछ ।   

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey