अश्माङ्क कार्कीले गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि जितेका छन् । शनिबार सम्पन्न दुईदिने प्रतियोगितामा १० ह्यान्डिक्यापमा खेलेका कार्कीले कुल ४२ स्टेबलफोर्ड अंक जोड्दै च्याम्पियनसिप ट्रफी उचालेका हुन् ।
उपाधिसँगै कार्कीले प्रतियोगिताको प्रतिष्ठित ‘ब्लु ज्याकेट’, चन्द्रागिरि हिल्सको प्रेसिडेन्सियल सुइटमा बस्ने अवसर तथा डिशहोम फाइबर इन्टरनेटको एक वर्षको सब्सक्रिप्सन प्राप्त गरे । ३८ अंक जोडेका ब्रिगेडियर जनरल सुभाष जंग थापा काउन्टब्याकका आधारमा उपविजेता बने ।
महिलातर्फ ३५ अंकसहित अञ्जिला योञ्जन विजेता र ३३ अंकसहित तारा कार्की चित्रकार उपविजेता भइन् । कूटनीतिक नियोगको विधामा कर्णेल भी. सुब्रमण्यम तथा ६० वर्षमाथिको सिनियर विधामा तेन्डी शेर्पाले उपाधि जिते ।

प्रतियोगिताको पहिलो दिनको ट्रफी ३८ अंक जोडेका ऋषि अग्रवालले हात पारे । विधागततर्फ लङ्गेस्ट ड्राइभमा पहिलो दिन स्वप्निल भट्टराई र दोस्रो दिन विज्ञान राणा विजेता बने । क्लोजेस्ट टु द पिन (पिनसिकर) अवार्ड पहिलो दिन वाङ्चेन ढोन्डुप र दोस्रो दिन तुलसी भट्टले जिते भने मोस्ट बर्डिज (बर्डी मास्टर) को उपाधि पहिलो दिन टाशी डोङ र दोस्रो दिन संगम केसीले प्राप्त गरे ।
पाँचौं होलमा ‘होल इन वान’ प्रहार गरेका गौरव शाहले विशेष पुरस्कार पाए । तर, दसौं होलमा होल इन वानका लागि राखिएको स्कोडा कोडियाक कार भने कसैले जित्न सकेनन् ।
ग्लोबल आइएमई बैंकको प्रायोजन तथा थ्री-क्वार्टर ह्यान्डिक्यापसहित स्टेबलफोर्ड फर्म्याटमा खेलाइएको प्रतियोगितामा कुल १ सय ७५ गल्फरले प्रतिस्पर्धा गरेका थिए । जसमा पहिलो दिन ९५ र दोस्रो दिन ८० खेलाडी सहभागी थिए ।
विजेताहरूलाई नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेल, ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले पुरस्कृत गरे । अन्य विधाका विजेताहरूले पनि चन्द्रागिरि हिल्समा एक रातको बसाइ र डिशहोम फाइबर इन्टरनेटको एक वर्षको प्याकेज प्राप्त गरेका छन् ।