ओलम्पिक टर्च बालेर सुरुभयो १० ओैँ राष्ट्रिय खेलकुदको ट्रफी टुर

  • Image नेप्लेज
  • ११ मंसिर २०८३, शुक्रवार
  • 45 पटक हेरिएको
ओलम्पिक टर्च बालेर सुरुभयो १० ओैँ राष्ट्रिय खेलकुदको ट्रफी टुर

सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुन लागेको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारप्रसार र खेलकुदको उत्सवलाई राष्ट्रियस्तरमा पुर्‍याउने उद्देश्यसहित ओलम्पिक टर्च तथा ट्रफी टुर सुरु गरिएको छ ।

दैलेखको धार्मिक तथा पर्यटकीय स्थल श्रीस्थानस्थित अखण्ड ज्वालाबाट ओलम्पिक टर्च बालेर शुक्रबार ट्रफी टुरको शुभारम्भ गरिएको हो । ट्रफी टुरलाई मुख्य खेलस्थल वीरेन्द्रनगरबाट कर्णालीका सामाजिक विकास मन्त्री जितबहादुर मल्ल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल र सदस्यसचिव रविन्द्र चन्दले बिदाइ गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा सुरु भएको टर्च तथा ट्रफी टुरले प्रतियोगिताको माहोल सिर्जना गर्नुका साथै कर्णालीको ऐतिहासिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरिएको छ । श्रीस्थानको प्राकृतिक ज्वालाबाट प्रज्वलित टर्च कर्णालीको खेलकुद यात्राको प्रतिकका रूपमा अघि बढाइएको हो ।

श्रीस्थानको ज्वालाबाट बालिएको ओलम्पिक टर्च कर्णाली खेलकुद परिषद्का सदस्यसचिव रविन्द्र चन्दले म्याराथन धावक हरिबहादुर रोकायालाई हस्तान्तरण गरेका थिए । रोकायाले टर्च ग्रहण गरेसँगै दैलेखबाट ट्रफी टुरको औपचारिक यात्रा सुरु भएको हो ।

टर्च तथा ट्रफी टुर दैलेखबाट कालिकोट हुँदै जुम्ला पुर्‍याइने कार्यक्रम छ । टुरमा ओलम्पियन दीपक विष्ट, साग गेमका डबल गोल्ड मेडलिष्ट दिपक श्रेष्ठ, म्याराथन धावक हरिबहादुर रोकाय, ओलम्पिएन देबु थापा, करातेका मण्डेकाजी श्रेष्ठसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीको सहभागिता छ । साथै, जुम्लामा नेपाली चर्चित अल्ट्रा धाविका सुनमाया बुढा पनि टोलीसँगै सामेल हुनेछिन् ।

कालीकोट र जुम्लामा ट्रफी र टर्चलाई नगर परिक्रमा गराइने कार्यक्रम छ । ट्रफी टुर समापन पश्चात् १५ मंसिरमा कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले एक भव्य समारोहका बीच टुर टोलीको स्वागत तथा धञट्रफी अनावरण गर्नेछन् । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ गतेदेखि कर्णाली प्रदेशमा औपचारिक रूपमा सुरु हुँदैछ । यद्यपि, प्रतियोगिता अन्तर्गतका ३२ खेलमध्ये १० खेल मंसिर ८ गतेदेखि नै सुरु भइसकेका छन् । लामो समयदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने प्रतीक्षामा रहेको कर्णालीमा प्रतियोगिताको तयारीसँगै खेलकुद गतिविधि पनि बढ्दै गएको छ ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment