दशौँ राष्ट्रिय खेलकुदको पौडीमा तीन राष्ट्रिय कीर्तिमान, विकास, लिली र डुआनाको उत्कृष्ट प्रदर्शन

  • Image नेप्लेज
  • ८ मंसिर २०८३, मङ्गलवार
  • 57 पटक हेरिएको
दशौँ राष्ट्रिय खेलकुदको पौडीमा तीन राष्ट्रिय कीर्तिमान, विकास, लिली र डुआनाको उत्कृष्ट प्रदर्शन

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी प्रतिस्पर्धाको पहिलो दिन तीन खेलाडीले राष्ट्रिय कीर्तिमान तोडेका छन् ।

नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा आज भएको ११ स्पर्धामध्ये तीन खेलाडीले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् ।

पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेका छन् । उनले यसअघि ३०.६६ सेकेन्डको समय राखेर बनाएको रेकर्डलाई सुधार गर्दै आज ३०.६४ सेकेन्डमा दूरी पूरा गरे ।

त्यस्तै, महिला ४०० मिटर इन्डिभिजुअल मेड्लीमा एनआरएनएकी लिली बोहरा र नेपाल आर्मीकी डुआना लामाले राष्ट्रिय कीर्तिमान तोडेका छन् । यसअघि सोफिया शाहको नाममा रहेको ५ मिनेट ४८.५४ सेकेन्डको कीर्तिमान लिलीले ५ मिनेट २७.१ सेकेन्ड र डुआनाले ५ मिनेट २५.१७ सेकेन्डमा दूरी पूरा गर्दै भंग गरेका हुन् ।

प्रतियोगिताको पहिलो दिन पुरुष १५०० मिटर फ्रिस्टाइलमा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले स्वर्ण जिते । सुदूरपश्चिमका अथर्व सिंहले रजत र पुलिस क्लबकै रचित बुढाथोकीले कांस्य पदक प्राप्त गरे ।

महिला ४०० मिटर इन्डिभिजुअल मेड्लीमा लिली बोहराले स्वर्ण, डुआना लामाले रजत र नेपाल पुलिस क्लबकी दिभान्सी जोशीले कांस्य जितिन् ।

पुरुष ५० मिटर ब्रेस्टस्ट्रोकमा विकास कुमालले स्वर्ण जित्दा नेपाल आर्मीका जडेन श्रेष्ठले रजत र पुलिस क्लबका ईर्भिन श्रेष्ठले कांस्य प्राप्त गरे । महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा डुआना लामाले स्वर्ण, बागमतीकी रोयल प्रजापतिले रजत र प्रज्ञा ताम्राकारले कांस्य जितिन् ।

पुरुष १०० मिटर फ्रिस्टाइलमा बागमतीका अभिभ प्रधानले स्वर्ण, पुलिसका ईर्भिन श्रेष्ठले रजत र आर्मीका अल्भिन महर्जनले कांस्य जिते । महिला १०० मिटर फ्रिस्टाइलमा एनआरएनएकी मिखाकया थापाले स्वर्ण, डुआना लामाले रजत र लिली बोहराले कांस्य हात पारिन् ।

पुरुष २०० मिटर ब्याकस्ट्रोकमा अभिभ प्रधानले स्वर्ण, सुदूरपश्चिमका अथर्व सिंहले रजत र बागमतीका रेभन्तबहादुर श्रेष्ठले कांस्य जिते । महिला २०० मिटर ब्याकस्ट्रोकमा मिखाकया थापाले स्वर्ण, नेपाल पुलिसकी दिभान्सी जोशीले रजत र बागमतीकी आर्य महर्जनले कांस्य प्राप्त गरिन् ।

पुरुष ४×१०० मिटर मेड्ली रिलेमा नेपाल आर्मीको टोलीले स्वर्ण जित्यो । बागमतीले रजत र नेपाल पुलिस क्लबले कांस्य पदक प्राप्त गरे ।

महिला ४×५० मिटर फ्रिस्टाइल रिलेमा बागमतीले स्वर्ण, नेपाल आर्मीले रजत र नेपाल पुलिसले कांस्य जिते । मिक्स्ड ४×५० मिटर फ्रिस्टाइल रिलेमा पनि बागमतीले स्वर्ण जित्दा आर्मीले रजत र पुलिसले कांस्य पदक हात पारे ।

पहिलो दिनको प्रतिस्पर्धापछि पदक तालिकामा बागमती प्रदेशले चार स्वर्ण, दुई रजत र तीन कांस्यसहित नौ पदक जितेको छ । एनआरएनएले तीन स्वर्ण र एक कांस्यसहित चार, नेपाल आर्मीले दुई स्वर्ण, पाँच रजत र एक कांस्यसहित आठ तथा नेपाल पुलिसले एक स्वर्ण, दुई रजत र छ कांस्यसहित नौ पदक प्राप्त गरेका छन् । कोशीले एक स्वर्ण र सुदूरपश्चिमले दुई रजत पदक जितेका छन् ।

प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले गर्नुभएको थियो । कर्णाली प्रदेशमा मंसिर १६ देखि २७ गतेसम्म आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदका केही खेल भने अगावै सञ्चालन गरिएको हो ।

Best Law firms in Kathmandu Nepal | Paragon Law Associates Civil and criminal litigation Labour and employment law Family Law Visa and Immigration Intellectual Property Law Foreign Investment