काठमाडाैं । दशौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन्। औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने आजदेखि नै सुरु हुन लागेका हुन्।
आज मंगलबारदेखि पाँच खेलको प्रतिस्पर्धा सुरू हुनेछन्। जसमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार कुल ३२ खेलमध्ये अधिकांश अर्थात् २३ वटा खेल सुर्खेतमै केन्द्रित हुनेछन्। बाँकी ९ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुम तथा छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा हुने भएको छ।
दशौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने यस प्रतियोगितामा ३८४ इभेन्ट्समा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ। यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ।
आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन र मंसिर २७ गते समापन हुने तय भएको छ।