काठमाडौं । फेमस नगरकोटीको विस्फोटक ब्याटिङको मद्दतमा राइजिङ स्टार्सले राइजिङ स्टार यू–१२ ब्वाइज क्रिकेट प्रतियोगिता २०८३ मा सीईसी भक्तपुरलाई ६ विकेटले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सीईसी भक्तपुरले २७.२ ओभरमा सबै विकेट गुमाएर १९८ रन बनाएको थियो । उसका लागि कृषभ निरौलाले ५६ रन र आकाश यादवले १८ रनको योगदान दिए । राइजिङ स्टार्सका जुथाङ आरले उत्कृष्ट बलिङ गर्दै ३ विकेट
लिए भने रिषभ एमले २ विकेट हात पारे । १९९ रनको लक्ष्य पछ्याएको राइजिङ स्टार्सले १६.४ ओभरमै ४ विकेट गुमाएर १९९ रन बनाउँदै जित हासिल गर्यो । राइजिङ स्टार्सको जितका नायक नगरकोटी बने। उनले आक्रामक ब्याटिङ गर्दै मात्र ४६ बलमा अविजित १४७ रन बनाए। उनको उत्कृष्ट प्रदर्शनले टोलीलाई सहज जित दिलायो। रिषभ एमले २५ बलमा १७ रन बनाए भने अन्य ब्याटरले पनि साथ दिएका थिए ।