काठमाडौं। मैत्रीपूर्ण फुटबल खेलमा जापानले ब्राजिललाई ३–२ गोलअन्तरले पराजित गर्दै ऐतिहासिक जित हासिल गरेको छ।
यो जित जापानी फुटबलका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ, किनकि ब्राजिलजस्तो शक्तिशाली टिमलाई पराजित गर्नु सानो कुरा होइन।
खेल सुरुवातदेखि नै रोमाञ्चक बनेको थियो। जापानले पहिलो हाफमै आक्रामक खेल देखाउँदै अग्रता लियो। तेकफुसा कुबोले १५औँ मिनेटमा गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाए, भने केइतो नाकामुराले १९औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। ब्राजिलले पहिलो हाफको अन्त्यतिर खेलमा फर्किने प्रयास गर्यो। भिनिसियस जुनियरले ३३औँ मिनेटमा गोल गर्दै ब्राजिललाई खेलमा फर्काए।
दोस्रो हाफमा पनि भिनिसियसले ७५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याए। तर, खेलको अन्तिम समयमा तात्सुहिरो साकामोतोले इन्जुरी टाइम (९०+१ मिनेट) मा निर्णायक गोल गर्दै जापानलाई ३–२ को जित दिलाए।
जापानी खेलाडीहरूले देखाएको टिमभावना, अनुशासन र अन्तिम समयसम्मको धैर्यले उनीहरूलाई खेलको नायक बनायो। ब्राजिलका लागि भिनिसियस जुनियरले दुई गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन।
यो हार ब्राजिलका लागि निराशाजनक रह्यो, तर मैत्रीपूर्ण खेल भएकाले यसलाई सिकाइको अवसरका रूपमा लिन सकिने विश्लेषकहरूले बताएका छन्। जापानको यो जितले आगामी प्रतियोगिताहरूका लागि उनीहरूको आत्मविश्वास थप बलियो बनाएको छ।