काठमाडौं। नेपाल फुटबल लिग (एनएफएल) मा थप तीन टोली सहभागी गराउने उद्देश्यले आह्वान गरिएको बोलपत्र पेस गर्ने म्याद शुक्रबारसम्म थप गरिएको छ।
चाडपर्वको बिदालाई मध्यनजर गर्दै इच्छुक पक्षलाई आवश्यक तयारीका लागि थप समय उपलब्ध गराउन बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर ४ (नोभेम्बर २०, २०२६) सम्म पुर्याइएको एनएफएलका चेयरमेन कल्याण गुरुङले बताएका छन्। यसअघि कात्तिक ३० (नोभेम्बर १६) सम्मको समय दिइएको थियो।
एनएफएलले विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौंडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेत सहरको प्रतिनिधित्व गर्ने नयाँ फुटबल क्लब स्थापनाका लागि बोलपत्र आह्वान गरेको थियो।
नयाँ क्लबका लागि आवेदन दिने पक्षले आफ्नो व्यावसायिक तथा वित्तीय इतिहास, आगामी १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयतासम्बन्धी विवरण पेस गर्नुपर्नेछ।
नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सुरु हुने घोषणा भइसकेको छ। पहिलो संस्करणमा घरेलु फुटबलका सात क्लबले सहभागिता जनाउने निश्चित छ।

नेपाल फुटबल लिगमा काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी पुरानै क्लबका रुपमा हुनेछन्। थप तीन टोली समावेश भएपछि लिगमा सहभागी क्लबको संख्या १० पुग्नेछ।
रंगशालाको उपलब्धताका आधारमा प्रतियोगिता होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने जनाएको छ। तयारी अवधिसहित एनएफएल करिब चार महिना सञ्चालन हुनेछ।