पोखरा एभेन्जर्सका युवराजसिंह सामराले बनाए अर्को अर्धशतक

  • Image नेप्लेज
  • २६ कार्तिक २०८३, बिहिवार
  • 66 पटक हेरिएको
पोखरा एभेन्जर्सका युवराजसिंह सामराले बनाए अर्को अर्धशतक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबार जारी विराटनगर किङ्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सका ब्याट्सम्यान युवराजसिंह सामराले अर्धशतक बनाएका छन् ।

क्यानडाका २० वर्षीय बायाँहाते ओपनर ब्याट्सम्यान सामराले ३२ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

यसअघि, उनले जारी एनपीएलमा शतक पनि बनाएका थिए । उनी एनपीएलको तेस्रो संस्करणमा शतक बनाउने पहिलो र एकमात्र खेलाडी पनि हुन् । उनले कर्णाली याक्सविरुद्धको खेलमा केवल ४८ बलको सामना गरी ६ छक्का र १० चौकाको मद्दतले एक सय दुई रन बनाएका थिए । उनी जारी एनपीएलमा अर्धशतक बनाउने १५ औं खेलाडी हुन् । त्यसमध्ये दुई ब्याट्सम्यान काठमान्डु गोर्खाजका रासिद खान र विराटनगर किङ्सका लोकेश बमले दुई–दुई अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जस जिती पहिले ब्याटिङको निर्णय लिएको पोखरा एभेन्जर्सले १० ओभरको समाप्तिमा तीन विकेट गुमाएर ७० रन बनाएको छ ।


#क्रिकेट #एनपीएल #नेपाल क्रिकेट संघ