एनपीएलअघि ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक

  • Image नेप्लेज
  • ९ कार्तिक २०८३, सोमवार
  • 49 पटक हेरिएको
एनपीएलअघि ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि एक्स्ट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटको उत्साह र संगीतको ऊर्जा समेटिएको ‘एक्स्ट्रीम एन्थम’ सार्वजनिक गरेको छ।

क्रिकेटप्रेमी, खेलाडी र समर्थकको उत्साहलाई संगीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले तयार पारिएको यस एन्थमले एनपीएलको माहोललाई थप उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ। मैदानमा खेलाडीले देखाउने प्रतिस्पर्धात्मक भावना, चौका–छक्कामा दर्शकको उत्साह र आफ्नो टोलीप्रतिको समर्थकको विश्वासलाई गीतमा समेट्ने प्रयास गरिएको छ।

युनिक पोयटको नामले परिचित उत्साह जोशीको स्वर तथा शब्द रहेको एन्थममा ब्लुस (सुरज शाही) ले संगीत सिर्जना तथा संयोजन गरेका छन्। यसको निर्माण एनएफटीपी टोलीले गरेको हो।

एनपीएलको तेस्रो संस्करणमा एक्स्ट्रीम इनर्जी ड्रिङ्कले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ। पोखरा एभेन्जर्ससँग भने जर्सीको छातीमा कम्पनीको लोगो रहने गरी प्रायोजन सम्झौता गरिएको छ।

कम्पनीका अनुसार युवा पुस्ताको सांगीतिक रुचि र क्रिकेटप्रतिको बढ्दो आकर्षणलाई ध्यानमा राखेर एन्थम तयार पारिएको हो। क्रिकेट र संगीतलाई एउटै उत्सवमा जोड्दै खेलाडी तथा समर्थकबीचको भावनात्मक सम्बन्धलाई थप बलियो बनाउने यसको उद्देश्य रहेको छ।

‘एक्स्ट्रीम एन्थम’ एक्स्ट्रीम इनर्जी ड्रिङ्कको आधिकारिक युट्युब तथा टिकटकमार्फत हेर्न र सुन्न सकिनेछ।