पाकिस्तानी पेस बलर हुनेन शाहले जनकपुरबाट एनपीएल खेल्ने

  • Image नेप्लेज
  • ७ कार्तिक २०८३, शनिवार
  • 113 पटक हेरिएको
पाकिस्तानी पेस बलर हुनेन शाहले जनकपुरबाट एनपीएल खेल्ने

काठमाडौं । पाकिस्तानी पेस बलर हुनेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्।

२२ वर्षीय दायाँहाते बलर हुनेन पाकिस्तानका तीव्र गतिका बलर नसीम शाहका भाइ हुन्। जनकपुरले उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ। हुनेनले आफ्नो तीव्र गति र योर्करमार्फत टोलीको बलिङ आक्रमणलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

हुनेनले प्रथम श्रेणी क्रिकेटमा १५ खेल खेल्दै ४० विकेट लिएका छन्। लिस्ट ए क्रिकेटमा नौ खेलबाट १४ विकेट लिएका उनले सबैखाले टी–२० क्रिकेटमा ५२ खेल खेल्दै ६१ विकेट लिएका छन्। टी–२० मा उनको उत्कृष्ट प्रदर्शन २२ रन दिएर चार विकेट हो।

लिस्ट ए क्रिकेटमा उनले २६ रन दिएर छ विकेट लिएका छन्। प्रथम श्रेणीमा उनको उत्कृष्ट बलिङ ८४ रन दिएर पाँच विकेट हो। जनकपुरले एनपीएलको तेस्रो संस्करणका लागि यसअघि हर्मीत सिंहलाई अनुबन्ध गर्दै कप्तान बनाएको छ ।

यस्तै जिमी नीशम टोलीमा फर्किएका छन् भने इंग्ल्यान्डका मोइन अली र पाकिस्तानका इफ्तिखार अहमदलाई पनि अनुबन्ध गरेको छ ।


#क्रिकेट #एनपीएल #टी-ट्वान्टी