दक्षिण अफ्रिकी स्टार क्रिकेटर मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने

  • Image नेप्लेज
  • ७ कार्तिक २०८३, शनिवार
  • 105 पटक हेरिएको
दक्षिण अफ्रिकी स्टार क्रिकेटर मिलरले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं । कर्णाली याक्सले दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेभिड मिलरलाई अनुबन्ध गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि टेस्ट देश दक्षिण अफ्रिकाका मध्यक्रमका बायाँ हाते ब्याटर मिलरलाई अनुबन्ध गरेको कर्णालीले औपचारिक जानकारी दिएको छ ।

कर्णाली याक्सले समर्थकको चाहनाअनुसार चर्चित खेलाडी अनुबन्ध गर्न सफल भएको जनाएको छ । योसँगै टोली उपाधिको दाबेदार बनेको तथा नेपालमा पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउन सफल हुने उसको विश्वास छ ।

कर्णालीबाट यसअघि भारतका शिखर धवनले पनि खेलेका थिए । ३७ वर्षीय मिलरले दक्षिण अफ्रिकासँगै विश्वचर्चित फ्रेन्चाइज लिगहरू इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तान प्रिमियर लिगलगायत खेलेका छन् ।

सन् २०२२ मा गुजरात टाइटन्सले आईपीएलको उपाधि जित्दा मिलर मुख्य खेलाडी थिए । मिलरले दक्षिण अफ्रिकाबाट १४० टी–२० आई खेलमा दुई हजार ८०४ रन बनाएका छन् । यस क्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका थिए ।

मिलरले सन् २०१७ मा बङ्गलादेशसँगको खेलमा ३५ बलमै शतक प्रहार गरेका थिए । मिलरले अहिलेसम्म १८० एक दिवसीय र १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

कर्णाली याक्सले यो शृंखलाका लागि पाकिस्तानका टी–२० टोलीका कप्तान साहिबजादा फरहान, पाकिस्तानी अलराउन्डर हुसेन तलत तथा बङ्गलादेशका अकबर अली र अरिफुल इस्लामलाई पनि अनुबन्ध गरिसकेको छ । एनपीएलको तेस्रो संस्करण पर्सि सोमबारदेखि शुरु हुँदैछ ।


#क्रिकेट #एनपीएल #टी-ट्वान्टी