एनपीएलको तयारीमा ठूलो फड्को : ५६० नयाँ सिट थपिए, बजेट ३३ करोड पुग्यो

  • Image नेप्लेज
  • ४ कार्तिक २०८३, बुधवार
  • 243 पटक हेरिएको
एनपीएलको तयारीमा ठूलो फड्को : ५६० नयाँ सिट थपिए, बजेट ३३ करोड पुग्यो

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कार्तिक ९ गतेबाट सुरु हुँदैछ। चाडपर्वको चटारोबीच पनि नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगितालाई भव्य र व्यवस्थित बनाउन मैदानको भौतिक पूर्वाधार निर्माण, पिच सुधार तथा दर्शक मैत्री व्यवस्थापनका कामलाई अन्तिम रूप दिइरहेको छ।

गत वर्षहरूमा देखिएका कमी-कमजोरीलाई सुधार गर्दै यसपटक खेल मैदानदेखि बाहिरी संरचनासम्म व्यापक परिवर्तन गरिएको छ। विशेष गरी दर्शकहरूको सुविधालाई प्राथमिकतामा राख्दै ५६० नयाँ सिट थप गरिएको छ भने कुल दर्शक क्षमता साढे १३ हजारदेखि १५ हजारसम्म पुर्‍याइएको छ। मैदान बाहिरको आवागमन सहज बनाउन गेट नम्बर २ देखि सिद्धार्थसम्म सडक कालोपत्रे तथा मर्मत गरी धुलोमुक्त पारिएको छ। साथै, सवारी साधनका लागि व्यवस्थित पार्किङ क्षेत्र छुट्याइएको छ।

खेलाडी, प्रशिक्षक, मिडियाकर्मी तथा आईसीसीका प्रतिनिधिहरूका लागि छुट्टाछुट्टै अत्याधुनिक डाइनिङ हल, मिडिया सेन्टर र आराम कक्षहरू तयार पारिएका छन्। खेल मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको आधुनिक साइड स्क्रिन जडान गरिएको छ भने पिचलाई थप प्रतिस्पर्धी र व्यवस्थित बनाउन क्युररहरूले विशेष मेहनत गरेका छन्।

क्यानका उपाध्यक्ष एवम् मनिटर कमिटीका संयोजक रोशन सिंहका अनुसार यसपटक जिल्ला तथा प्रदेश क्रिकेट संघका पदाधिकारीहरू, प्रायोजकहरू र टिम ओनरहरूका लागि छुट्टै विशिष्ट कक्षको व्यवस्था गरिएको छ। यो संस्करणमा आर्थिक पारदर्शिता कायम गर्न टेन्डर प्रक्रियालाई कडाइका साथ पालना गरिएको र प्रतियोगिताको बजेट तथा कारोबार बढेर ३३ करोडको उचाइमा पुगेको उनले बताए।

 


#एनपीएल