फरवार्ड विमल घर्तीमगरले लिए सन्यास

  • Image नेप्लेज
  • १ कार्तिक २०८३, आइतवार
  • 130 पटक हेरिएको
फरवार्ड विमल घर्तीमगरले लिए सन्यास

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय खेलजीवनबाट सन्न्यास लिएका छन्।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो फुटबल यात्रालाई टुङ्ग्याउने घोषणा गरेका हुन्। बुटवलबाट सुरु भएको आफ्नो फुटबल यात्रा काठमाडौँ हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा लामो र कठिन सङ्घर्ष गर्नुपरेको स्मरण गर्दै विमलले देशका लागि पूर्ण समर्पणका साथ खेलेको बताएका छन्।

‘बुटवलबाट सुरु भएको मेरो फुटबल यात्रा काठमाडौँ हुँदै राष्ट्रिय टोलीसम्म पुग्दा निकै लामो र कठिन रह्यो। मैले देशका लागि मनैदेखि खेलेँ र आफ्नो सबैथोक फुटबललाई नै दिएँ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्। फुटबलप्रेमी, समर्थक तथा शुभचिन्तकबाट प्राप्त माया र साथप्रति आभार व्यक्त गर्दै उनले सन्न्यासको निर्णय लिँदा आफू निकै भावुक भएको बताएका छन्।

‘आज यो निर्णय लिँदा म धेरै नै भावुक भएको छु। सबैलाई एकमुष्ट धन्यवाद दिँदै मैले फुटबलको यात्रा यहीँसम्म टुङ्ग्याएको छु’, उनले उल्लेख गरेका छन्। विमलले सन् २०१२ मा बङ्गलादेशविरुद्ध खेल्दै नेपाली राष्ट्रिय फुटबल टोलीमा डेब्यु गरेका थिए। राष्ट्रिय टोलीबाट ४४ खेल खेलेका उनले नौ गोल गरेका छन्।

आफ्नो खेलजीवनमा उनले नेपाली फुटबल टोलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्दा महत्त्वपूर्ण सदस्यका रूपमा योगदान दिएका थिए। सन् २०१५ को यु–१९ साफ च्याम्पियनसिप, सन् २०१६ को बङ्गबन्धु गोल्डकप, दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक तथा एएफसी सोलिडारिटी कप जित्ने नेपाली टोलीमा उनी सहभागी थिए।

घरेलु फुटबलमा मच्छिन्द्र क्लबबाट सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितेका विमलले नेदरल्यान्ड्समा रहेर युवा फुटबलसमेत खेलेका थिए। बुटवलबाट फुटबल यात्रा सुरु गरी राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका विमलले नेपाली फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन्। राष्ट्रिय टोलीबाट देशको प्रतिनिधित्व गर्दै आएका उनले सन्न्यासको घोषणासँगै खेलाडीका रूपमा आफ्नो सक्रिय यात्रालाई विराम दिएका छन्।