काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघमा मनोनीत भएका विभिन्न पदाधिकारीलाई फिर्ता बोलाएको छ ।
परिषद्ले सूचना जारी गर्दै ब्याडमिन्टन, पौडी, क्रिकेट, सुटिङ र साइक्लिङ संघमा मनोनीत भएका पदाधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
राखेपको बुधबार बसेको सदस्य सचिवस्तरीय निर्णयअनुसार उनीहरुलाई पदबाट फिर्ता बोलाएको जनाएको छ ।
राखेपले पत्रमार्फत सम्बन्धित व्यक्तिलाई यसबारे जानकारी समेत गराएको छ ।
फिर्ता बोलाइनेमा नेपाल ब्याडमिन्टन संघका सम्भु कार्की, नेपाल सुटिङ संघका कृष्ण हरी सैंजु, नेपाल पौडी संघका विनोद श्रेष्ठ, नेपाल क्रिकेट संघ (क्यान)का गुन्जन शाह र नेपाल साइक्लिङ महासंघका गणेशप्रसाद मैनाली रहेका छन् ।
क्यानको बोर्ड सदस्यमा मनोनीत भएकी गुञ्जन शाहलाई एक महिना पनि नपुग्दै फिर्ता बोलाइएको छ । गुञ्जन असोज १ मा मनोनीत भएकी थिइन् ।
सदस्य सचिव रामचरित्र मेहताले खेल संस्थामा मनोनीत भएकालाई प्राविधिक कारणले फिर्ता बोलाइएको जानकारी दिए । ‘गुञ्जनजीलाई मात्रै होइन, प्राविधिक कारणले गर्दा अन्य खेल संस्थाबाट पनि अरूलाई फिर्ता बोलाइएको हो’ मेहताले भने ।