बालगोपाल साहुखला बने प्रो लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक

  • Image नेप्लेज
  • १७ आश्विन २०८३, शनिवार
  • 69 पटक हेरिएको
बालगोपाल साहुखला बने प्रो लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक

काठमाडौं । नेपाली फुटबलका पूर्वखेलाडी तथा प्रशिक्षक बालगोपाल साहुखला प्रो लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक बनेका छन्।

साहुखलाले अस्ट्रेलिया फुटबल संघअन्तर्गत सञ्चालन भएको एकवर्षे एएफसी प्रो–डिप्लोमा कोर्स सफलतापूर्वक पूरा गरेपछि शुक्रबार प्रो लाइसेन्सको प्रमाणपत्र प्राप्त गरेका हुन्।

योसँगै उनी नेपाली फुटबल इतिहासमा प्रो लाइसेन्स हासिल गर्ने पहिलो प्रशिक्षकका रूपमा दर्ज भएका छन्।

नेपालमा हालसम्म एएफसीका ‘ए’, ‘बी’ र ‘सी’ लाइसेन्स प्राप्त प्रशिक्षक मात्र रहेकाले राष्ट्रिय टोली तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि विदेशी प्रशिक्षक नियुक्त गर्ने अभ्यास हुँदै आएको थियो।

साहुखलाको उपलब्धिले नेपाली प्रशिक्षकको क्षमता र सम्भावनालाई नयाँ उचाइमा पुर्‍याएको छ। साहुखलाले सन् २०२३ मा कतार फुटबल संघमार्फत एएफसी ‘ए’ लाइसेन्स प्राप्त गरेका थिए।

त्यसयता उनले आफ्नो प्रशिक्षण यात्रालाई निरन्तर अघि बढाउँदै प्रो लाइसेन्स हासिल गर्न सफल भएका हुन्। फुटबल अस्ट्रेलिया र एसियाली फुटबल महासंघ (एएफसी) बाट मान्यता प्राप्त उक्त कोर्स व्यावसायिक फुटबलको उच्च तहमा प्रशिक्षण दिन चाहने प्रशिक्षकका लागि तयार गरिएको थियो।

कोर्समा उन्नत प्रशिक्षण रणनीति, नेतृत्व क्षमता, प्रशिक्षक टोली व्यवस्थापन तथा खेलाडी विकाससम्बन्धी विषय समेटिएका थिए।

सिड्नी फुटबल एसोसिएसनअन्तर्गत सञ्चालन भएको यो कोर्स चार चरणमा सम्पन्न भएको थियो। साहुखलाले नेपाल यू–१९ महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्।

साथै, पुरुष सिनियर राष्ट्रिय टोली र यू–२० टोलीमा सहायक प्रशिक्षकको भूमिकामा समेत काम गरिसकेका छन्।

उनले च्यासल युथ क्लब, सरस्वती युथ क्लब, महावीर क्लब र सातदोबाटो युथ क्लबको प्रशिक्षण पनि सम्हालिसकेका छन्।