मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल : नेपाल पुलिस र सभापोखरी फाइनलमा

  • Image नेप्लेज
  • १६ आश्विन २०८३, शुक्रवार
  • 92 पटक हेरिएको
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल : नेपाल पुलिस र सभापोखरी फाइनलमा

बुटवल, असोज १६ गते । विभागीय टोली नेपाल पुलिस क्लब र सभापोखरी भलिबल क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले एपिएफमाथि २१–२५, २८–२६, २५–१६,२५–१९ को जित निकालेको हो । 

यसअघि शुक्रबारनै भएको समूह चरणको अन्तिम खेलमा एपिएफले भारतको गुजरात स्र्पोटिङ क्लबलाई ३–२ सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । एपिएफले २१–२५, २५–१८, २५–१६, १७–२५, १५–१२ को जित निकालेको थियो ।

यस्तै अर्को मेमिफाइनल खेलमा सभापोखरीले खैरा भलिबल क्लब पन्जाबलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान बनायो । सभापोखरीले खैरालाई २५–२०, २५–१६, २३–२५, २५–१५ ले पन्छाएको थियो । पुलिस र सभापोखरीबीच शनिबार उपाधि भिडन्त हुनेछ । सेमिफाइनलमा पराजित खैरा र एपिएफ तेस्रो स्थानका लागि खेल्नेछन् । 

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा विदेशका तीन र नेपालको चार गरी सात टोलीले भाग लिएका थिए । प्रतियोगिताको विजेता टोलीले रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 

यस्तै तेस्रो हुने टोलीलाई एक लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए । 

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, ब्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएको छ ।