‘जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ असोज १७ गतेदेखि

  • Image नेप्लेज
  • ११ आश्विन २०८३, आइतवार
  • 64 पटक हेरिएको
‘जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ असोज १७ गतेदेखि

काठमाडाैं । ‘एक्स्ट्रीम छैटौँ जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ ।

सिमरा भेट्रान क्लबको आयोजनामा ‘नारीको आत्म सम्मानसँगै राष्ट्र र स्वास्थ्यको लागि खेलकुद गरौँ र खेलौं’ भन्ने नारासहित प्रतियोगिता आयोजना हुने आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

प्रतियोगिता यही असोज १७ गतेदेखि २४ गतेसम्म बाराको जीतपुरसिमरा उप–महानगरपालिका–१, सिमरास्थित सिमरा रंगशालामा सञ्चालन हुनेछ ।

महिला फुटबलको विकास तथा प्रवद्र्धनसँगै महिला खेलाडीहरुलाई उच्चस्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको सिमरा भेट्रान क्लबका अध्यक्ष विजय राउतले जानकारी दिए ।

खेलकुदमार्फत स्वास्थ्य, अनुशासन र आत्मविश्वास अभिवृद्धि गर्ने लक्ष्यसमेत प्रतियोगिताले लिएको उनको भनाइ छ । प्रतियोगिताका सम्पूर्ण खेल बेलुकी ६ बजेपछि सञ्चालन हुने र सबै खेलहरु फ्लडलाइटमा खेलाइने प्रतियोगिताका संयोजक हरि चौधरीले बताए ।

प्रतियोगितामा नेपालका विभागीय तथा क्लब टोलीसँगै भारतका टोली गरी ८ वटा टोलीको सहभागिता रहने छ । प्रतियोगितामा विभागीय टोलीहरु नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, चितवनको स्टार स्पोर्ट युवा क्लब, धरानको फेयर फुटबल क्लब, भारतको कुर्साङ गोल्स फुटबल क्लब, भारतको झारखण्ड स्टेट स्पोट्र्स प्रमोशन सोसाइटी र आयोजक सिमरा भेट्रान क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको विजेताले ५ लाख ११ हजार १ सय ११ तथा उप–विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ, भने उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ, इमर्जिङ प्लेयरलाई ५ हजार रुपैयाँ तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

खेल हेर्न आउने दर्शकका लागि पहिलो ४ वटा खेलको ५० रुपैयाँ, सेमिफाइनलको १ सय रुपैयाँ र फाइनलको २ सय रुपैयाँ टिकट निर्धारण गरिएको आयोजकले जनाएको छ ।

आयोजकले टिकटबाट संकलित रकमको १० प्रतिशत रकम गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढी प्रभावितको पुर्नःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको अध्यक्ष राउतले बताए ।