मदन भण्डारी कप अन्तर्राष्ट्रिय पुरुष भलिबलको दोस्रो संस्करण बुटवलमा सुरु हुँदै

  • Image प्रदीप लेखी
  • ११ आश्विन २०८३, आइतवार
  • 99 पटक हेरिएको
मदन भण्डारी कप अन्तर्राष्ट्रिय पुरुष भलिबलको दोस्रो संस्करण बुटवलमा सुरु हुँदै

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ पुरुष भलिबल प्रतियोगिता २०८३ को दोस्रो संस्करण बुटवलस्थित बीआईसीसीको प्राङ्गणमा आयोजना सोमबारदेखि सुरु हुँदैछ ।

प्रतिकूल मौसमका बाबजुद पनि प्रतियोगिताको सम्पूर्ण तयारी तीव्र रूपमा भइरहेको छ। मौसम पूर्वानुमान अनुसार आगामी १७ गतेसम्म मौसम अनुकूल हुने सङ्केत देखिएकाले प्रतियोगिता निर्धारित समयमै भव्य रूपमा सञ्चालन हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

प्रतियोगितामा नेपालका पाँच राष्ट्रिय क्लब, भारतका दुई र श्रीलंकाको पुलिस क्लब गरी जम्मा आठ टोलीको सहभागिता रहनेछ। वि.सं. २०८१ मा भारत र नेपालका टोलीबीच मात्र आयोजना गरिएको यस प्रतियोगिताको दोस्रो संस्करणमा श्रीलंकाको समेत सहभागिता रहेकाले यसलाई अझ फराकिलो र अन्तर्राष्ट्रिय स्तरको बनाइएको छ।

दर्शकहरूको सहजताका लागि निर्माण गरिएको अस्थायी प्यारापिट र कुर्सीहरूमार्फत ५ देखि ७ हजार दर्शकले एकैपटक खेल अवलोकन गर्न सक्ने क्षमताको मञ्च तयार गरिएको छ। सोमबार दिउँसो ३ बजे पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा प्रतियोगिताको भव्य उद्घाटन हुने कार्यक्रम रहेको छ। खेलको प्रत्यक्ष प्रसारण नेप्लेजको युट्युव च्यानलमा हुने छ । 

सम्बन्धित खबर