एल्चेविरुद्ध रियल मड्रिडको रोमाञ्चक जित

  • Image नेप्लेज
  • ३१ भदौ २०८३, बुधवार
  • 49 पटक हेरिएको
एल्चेविरुद्ध रियल मड्रिडको रोमाञ्चक जित

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत रियल मड्रिडले एल्चेलाई ३-२ ले पराजित गरेको छ ।

रियलका लागि अर्दा गुलेर र किलियन एम्बाप्पेले गोल गर्दै पहिलो हाफमै २-० को अग्रता दिलाएका थिए ।

मार्टिनेज भालेरो रंगशालामा भएको खेलमा रियल मड्रिडले २५औँ मिनेटमा अग्रता लिएको थियो। अर्दा गुलेरले प्रहार गरेको फ्रिकिक गोलरक्षक मातियास दितुरोलाई लाग्दै आफ्नै पोस्टमा छिरेपछि रियलले १–० को अग्रता बनाएको थियो ।

त्यसको आठ मिनेटपछि रियलले अग्रता दोब्बर बनायो। दायाँतर्फबाट यान डियोमन्डेले दिएको पासमा किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई २–० को स्थितिमा पुर्‍याएका थिए ।

दोस्रो हाफमा एल्चेले उत्कृष्ट पुनरागमन गर्दै अबिएल ओसोरियो र फेर्नान्डो निन्योको गोलमार्फत खेल २–२ को बराबरीमा ल्याएको थियो ।

खेल बराबरीमा सकिन लागेको अवस्थामा अतिरिक्त समयमा कार्लोस एस्पीले निर्णायक गोल गर्दै रियललाई ३-२ को रोमाञ्चक जित दिलाएका थिए ।

यस जितसँगै रियल मड्रिडले ला लिगाका ६ खेलबाट १५ अंक जोडेको छ। समान १५ अंक भए पनि बार्सिलोनाले पाँच खेल मात्र खेलेको छ। एल्चे भने ६ खेलबाट २ अंकसहित तालिकाको पुछारमा रहेको छ ।