महिला भलिबलमा ऐतिहासिक सफलता, सागका लागि मनोबल उच्च

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-२८
  • |
  • 175 पटक हेरिएको

मुक्तिबाबु रेग्मी (बंगलादेश, ढाका)

अन्तर्राष्ट्रिय सहभागिताको २० वर्षे इतिहासमा नेपाली महिला भलिबल टोलीले पहिलो अन्तर्राष्ट्रिय सफलता आर्जित गरेको छ । त्यो पनि एसियाली स्तरको । बिहीबार माल्दिभ्सलाई पराजित गरेपछि २० वर्षको उपाधि भोक अन्त्य गरेको नेपालले आसन्न दक्षिण एसियाली खेलकुद सागका लागि पनि मनोबल उच्च पारेको छ ।

एभीसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिता पहिलोपल्ट आयोजना भएको हो । गत भदौ पहिलो साता नेपालमै भएको सेन्ट्रल जोनको कंग्रेसले महिलाको प्रतियोगिता आयोजना गर्ने निर्णयअनुसार बंगलादेशले पहिलो संस्करणको आयोजनाको जिम्मा पाएको थियो ।

एसियाका निम्न वरीयताका टिमबीच भएको प्रतियोगितामा नेपालको उपाधि यात्रा अपराजित मात्र होइन एउटा सेट पनि गुमाउनु परेन । अफगानिस्तानमाथिको जितसँगै सुरु भएको नेपालको यात्रा किर्गिस्तान, बंगलादेश र माल्दिभ्स हुँदै फाइनलमा पुनः माल्दिभ्सलाई हराएर सम्पन्न भयो ।

सन् १९९९ मा नेपाली महिला टोलीले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता घरेलु कोर्टमै खेलेको थियो । आठौं दक्षिण एसियाली खेलकुदमा नेपालले काश्य जित्यो । सन् २००६ मा श्रीलंकामा भएको दशौं साग र सन् २०१६ मा भारतमा भएको १२ औं सागमा पनि नेपालले काश्य जित्यो ।

सन् २०१० मा बंगलादेशमा भएको ११औं सागमा महिला भलिबल समावेश गरिएको थिएन । नेपालले सन् २०१७ मा एसियाली भलिबल च्याम्पियनसिपको छनोट खेलेको थियो र असफल भएको थियो । त्यसबाहेक दक्षिण एसियाली स्तरका प्रतियोगिता र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि भइरहेकै थिए ।

नेपाली कप्तान अरुणा शाहीका लागि पनि यो प्रतियोगिता अविष्मरणीय रह्यो । कप्तानीको रुपमा पहिलो प्रतियोगितामै उपाधि जित्नु हरेक खेलाडीको सपना नै हुन्छ । लामो समयदेखि कप्तानको रुपमा रहेकी बिनिता बुढाथोकीलाई प्रतिस्थापन गरेकी अरुणा अधिकांश युवा र कम अनुभवी खेलाडीको नेतृत्व गर्दै बंगलादेश पुगेकी थिइन् ।

‘हामीले राम्रो टिम सेट गरेका छौं र उपाधि नै हाम्रो लक्ष्य हो,’ बंगलादेश प्रस्थान गर्नुअघि उनले भनेकी थिइन् । यही आत्मविश्वास प्रमाणित भएरै छाड्यो ।

मंसिर १५ देखि २४ सम्म सागको १३ औं संस्करण नेपालमै आयोजना हुँदैछ । यस प्रतियोगितामा सहभागी भएकामध्ये बंगलादेश र माल्दिभ्ससँग नेपालले तीन सातापछि पनि खेल्नुछ । त्यसबाहेक भारत, श्रीलंका र पाकिस्तान छन्, जो एसियाकै पावर हाउस टिमहरु हुन् ।

वर्षभरि नै लगातार आयोजना हुने दर्जनबढी घरेलु प्रतियोगिता, चार महिनादेखिको बन्द प्रशिक्षण, थाइल्यान्डमा एकमहिने बैदेशिक प्रशिक्षण र साग अगाडि सेन्ट्रल जोनको एक्स्पोजरका कारण यसपल्ट नेपाल भलिबल संघले पनि महिला टोलीबाट यसअघिभन्दा राम्रो प्रदर्शनको आशा राखेको छ । त्यसका लागि सेन्ट्रल जोन उपाधि आत्मविश्वास उच्च बनाउने बहाना हुनेछ ।

दक्षिण एसियाली खेलकुदमा काश्यबाट माथिको उपाधि जित्न नसकेको नेपालले अघिल्ला प्रतियोगिताभन्दा आफूलाई सुधार गर्न भारत र श्रीलंकालाई पराजित गर्नुपर्छ । घरेलु कोर्टमा युवा खेलाडीको जोशले सागमा ठूलो उपलब्धी नआउला भन्न सकिन्न ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey