नेपाल ओलम्पिक कमिटीमा जीवनरामको दोस्रो इनिङ्स

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-२८
  • |
  • 197 पटक हेरिएको

नेपाली खेलकुदको अन्तर्राष्ट्रिय सहभागिता जनाउने माध्यम भनेको नेपाल ओलम्पिक कमिटी नै हो ।

पछिल्लो समय नेपाली खेलकुदमा विवाद भन्ने विषय पुरानो नै हो । लामोसमय देखि ओलम्पिक पनि विवादास्पदनै थियो । यसअघिको कार्यकालमा निर्वाचित भएर आएका जीवनराम श्रेष्ठले विवाद केहीहदसम्म साम्य पार्ने प्रयास गरे । यसअघि २ वटा अस्तित्वमा रहेको ओलम्पिक कमिटीलाई एक बनाएर लैजाने प्रयास गरियो ।

२० गतेका लागि तय भएको निर्वाचनमा फेरि पुरानो रोग देखिने खतरा बढेको थियो । पहिलो सम्भावित खतरालाई सर्वोच्च अदालतले निर्वाचन रोक्न आदेश दिएको थियो । उक्त आदेश पछि सर्वोच्चमा भएको बहसमा न्यायाधीशहरुले निर्वाचन रोक्न नपर्ने आदेश दिएपछि शनिबार ओलम्पिक कमिटीको निर्वाचन भएको हो ।

निर्वाचनमा पुरानै अनुहार प्रतिस्पर्धामा थिए । जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ । यी दुई श्रेष्ठले अघिल्लो कार्यकालको निर्वाचनमा पनि प्रतिस्पर्धा गरेका थिए । दुवै पटक नै जीवनराम विजयी हुँदा उमेशलालका हातमा पराजय मात्रै परेको छ । दुवै जना सत्तारुढ दल नेकपाका नेताहरु हुन् ।

जीवनराम माधवकुमार नेपाल पक्षका मानिन्छन् भने उनी सांसद समेत रहेका छन् । यसैगरी उमेशलाल प्रधानमन्त्री केपी ओली निकटका त हुन नै, साथ साथै पुष्पलाल र साहना प्रधानका छोरा पनि । यी दवै जना एउटै पार्टीका भए पनि गुठगत भिडन्तका कारण निर्वाचनमा होमिन पुगे । जीवनराम पछिल्लो २ दशकदेखि लगातार खेलकुदको केन्द्रमा छन् भन्दा पनि हुन्छ ।

उनले २ कार्यकाल राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिव भएर विताएका थिए भने ओलम्पिकमा पनि महासचिव हुँदै अध्यक्षसम्म पुगे । अहिले अध्यक्षमा उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनलाई अध्यक्षमा रोक्नका लागि मन्त्री, सदस्यसचिव नै लागेको भन्ने कुराहरु बाहिर आइसकेका छन् ।

तर सबैलाई चुनौती दिँदै जीवनराम फेरि ओलम्पिकको अध्यक्षमा निर्वाचित भएपछि संस्थापन पक्षलाई नराम्रो धक्का लागेको छ । यसबीचमा शनिबार विहान भएको चुनावी साधारण सभाको उद्घाटन समारोहमा राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल नै उपस्थित भएनन् ।

हुन त इटहरीमा कार्यक्रमका लागि विहानै गएको भनिए पनि सदस्यसचिव जत्तिकै जिम्मेवार व्यक्ति ओलम्पिक कमिटीको साधारणसभामा नपुग्नु आफैमा रहस्यको विषय हो । यो भन्दा सिलवालले ओलम्पिक कमिटी पनि राखेपमा ५४ नम्बरमा दर्ता भएको एउटा संघ हो, सबै खेल संघको साधारण सभामा जान कहाँ सम्भव हुन्छर भन्ने जवाफ दिन सक्छन् ।

हो सबै खेलसंघको साधारण सभामा सदस्यसचिव पुग्नै पर्छ भन्ने पनि होइन् । तर ओलम्पिक कमिटीको साधारणसभा त्यत्तिकै महत्वपूर्ण यस कारण पनि छ की अहिले राखेपले ओलम्पिकसँग मिलेर १३ औं सागको माहोल तयार पार्नु पर्ने छ । साग मंसिरमा हुनै लाग्दा सदस्यसचिवले ओलम्पिक कमिटीसँग मिलेर सफलतापूर्वक सम्पन्न गर्नुपर्ने दायित्व छ ।

सदस्यसचिव ओलम्पिकसँग रिसाएका छन् । उनी किन रिसाए त्यो उनकै कुरा हो । निर्वाचनबारे समाचार पढेर थाहा पाएको प्रतिक्रिया दिएका सिलवालले नयाँ निर्वाचित हुने कमिटीलाई स्पष्टिकरण सोध्ने घोषणा गरिसकेका छन् ।

स्पष्टिकरणको जवाफ हेरेर थप एक्सन लिने बताएका सदस्यचिवको भनाईले फेरि कतै नेपाल ओलम्पिक कमिटी विवादमा पर्ने त होइन प्रश्न उव्जिएको छ । यस्तोमा जननिर्वाचित प्रतिनिधि समेत रहेका जीवनरामले कसरी ओलम्पिकलाई अघि बढाउँछन् त्यो उनको दोस्रो इनिङ्सको ठूलो परीक्षा हुने छ ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey