आठौं, राष्ट्रिय खेलकूदका ५ खेल आजदेखि, औपचारिक उद्घाटन वैशाख ५ मा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-२७
  • |
  • 178 पटक हेरिएको

काठमाडौं, २७ चैत । प्रदेश पाँचमा आयोजना हुन लागेको आठौं राष्ट्रिय खेलकूदका केही खेलहरु बुधबारदेखि शुरु हुँदैछन् ।

प्रतियोगितामा सहभागीता गराइएका ३५ खेल मध्य ५ वटा खेल हुनेछन् ।

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत विभिन्न ५ खेलका प्रतिस्पर्धा बुधबारदेखि सुरु हुँदैछ । आठौं राष्ट्रियको औपचारिक उद्घाटन बैशाख ५ गते हुने भए पनि ५ खेल भने पूर्व निर्धारित तालिका अनुसार बुधबारदैखि नै हुन लागेको हो । समापन बैशाख ११ गते हुनेछ । उद्घाटन र समापन दुवै नेपालगन्ज रंगशालामा हुने कार्यक्रम रहेको छ ।
दाङको घोराही कभर्डहलमा टेबलटेनिस, कपिलवस्तुको जितपुरस्थित सिद्धार्थ क्याम्पसमा कुस्ती, नेपालगन्जको मंगलप्रसाद उमाविमा पुरुष हक्की, ललितपुरको सातदोबाटोमा स्क्वास र बुटवलमा लनटेनिस हुनेछन् । महिला हक्की भने नेपालगन्जको खजुरास्थित शुक्र माविमा चैत ३० गतेदेखि मात्र सुरु हुनेछ ।
उद्घाटन अघि यी पाँच खेलसहित विभिन्न १४ खेलको राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसक्ने छ । बुधबार हुने खेल बाहेक बक्सिङ, कबड्डी, जुडो, बास्केटबल, बुद्धिचाल, फुल कन्ट्याक्ट कराते, साइक्लिङ, फेन्सिङ र गोल्फ उद्घाटन पूर्व सकिने छ । आठौं राष्ट्रियमा विभिन्न ३५ खेल समावेश छन् । बृहत राष्ट्रिय खेलकुदकै इतिहासमा प्याराग्लाइडिङ खेल पहिलो पटक समावेश गरिएको छ भने एनआरएनए टिम पनि पहिलोपटक सहभागी हुँदैछ ।
स्क्वास :
स्क्वासमा प्रदेश १, २, ३, ४, ५, नेपाल प्रहरी र एपीएफ क्लबबाट २४ पुरुष र ५ महिला गरी २९ खेलाडीको सहभागिता रहने छ । पुरुष-महिला सिंगल्स तथा पुरुष टिम इभेन्ट गरी ३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता बैशाख २ गते सम्पन्न हुनेछ ।
हक्की :
हक्कीको पुरुषमा सातै प्रदेश, डिफेन्डिङ च्याम्पियन नेपाल आर्मी र प्रहरीसहित ९ टिमले भाग लिने छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । फाइनल बैशाख ४ गते हुनेछ ।
महिला हक्की भने चैत ३० गतेदेखि नेपालगन्जको खजुरास्थित शुक्र माविमा हुनेछ । सहभागी ६ टिमले दुई समूहमा रहेर लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिमहरुमा प्रदेश १, २, ३, ४ र ७ तथा आर्मी छन् । सातौं राष्ट्रियमा प्रदेश ७ च्याम्पियन बनेको थियो । फाइनल बैशाख ५ गते हुनेछ ।
लनटेनिस :
बुटवलमा हुने लनटेनिसमा प्रदेश ३, ४, ५, आर्मी, एपीएफ र एनआरएनबाट खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पुरुष÷महिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्स गरी ७ स्पर्धामा भिडन्त हुनेछ । चैत २ गतेसम्म चल्ने प्रतियोगतामा २८ पुरुष र १५ महिला खेलाडीले सहभागिता जनाउने छन् । त्यसमा एनआरएनएबाट ३ पुरुष खेलाडी संरक्षकभूषण वज्राचार्य र अमृत पौडेल (दुवै अस्ट्रेलिया) तथा दावा शेर्पा (थाइल्यान्ड) ले प्रतिस्पर्धा गर्ने छन् ।
कुस्ती :
कुस्तीमा पुरुष-महिलातर्फ समान १०–१० गरी २० स्पर्धामा खेल हुनेछ । सातै प्रदेश र दुई विभागीय (आमी÷प्रहरी) गरी ९ टिमले भाग लिने छन् ।
टेबलटेनिस :
टेबलटेनिसमा सात प्रदेश, तीन विभागीय (आर्मी÷प्रहरी÷एपीएफ) बाट १ सय २० खेलाडीले प्रतिस्पर्धा   गर्नेछन् । पुरुष÷महिला सिंगल्स, डबल्स र टिम तथा मिक्स डबल्स गरी ७ स्पर्धा समावेश छन् ।
आठौं राष्ट्रियमा समग्रमा २८ सय २५ पुरुष तथा २३ सय ८६ महिला गरी जम्मा ५२ सय ११ खेलाडी सहभागी हुने छन् । ३७२ स्वर्ण, त्यत्ति नै रजत र ५६३ कांस्यका भिडन्त हुनेछ । बृहत राष्ट्रिय खेलकुदको पहिलो, दोश्रो र तेश्रो संस्करण बाहेक दुई वर्षको अन्तरालमा पहिलो पटक राष्ट्रिय खेलकुद हुन लागेको हो ।

आठौं राष्ट्रिय खेलकूदमा ७ प्रदेश, ३ विभागीय र एउटा एनआरएनए गरि ११ टिमले प्रतिस्पर्धा गर्ने छन् । आठौंको उद्घाटन पाँच गते नेपालगञ्जमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने जनाइएको छ । पाँच गते नेपालगञ्ज रंगशालामा पुग्ने गरि शुक्रबारदेखि ओलम्पिक टर्च पुर्याइने भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको संयोजनमा ओलम्पियनहरुले यसअघि सातौं राष्ट्रिय खेलकूदको उद्घाटनस्थलबाट लिएर टर्च नेपालगञ्ज पुर्याउने छन् । टर्च जितबहादुर केसी, हरिबहादुर रोकाया, सुरेन्द्र हमाल, पुष्पराज ओझा, डम्बर कुवर, दीपक विष्ट, विष्णुबहादुर सिंह, डम्बरदत्त भट्ट, संगिना बैद्य, विमला रानामगर, पार्वती थापा, मेनुका रावत, अनिता श्रेष्ठ र कमलबहादुर अधिकारीले बोक्ने छन् । शुक्रबार विराटनगरबाट शुरुहुने टर्च र्याली बैशाख ५ गते विभिन्न प्रदेशको भ्रमण गरि पुग्ने छ ।

२९ गते शुक्रबार विराटनगरबाट प्रस्थान गर्ने टर्च ¥याली, धनुषा, हेटौडा, चितवन हुँदै ३० गते पोखरा पुग्ने छ । वैशाख १ गते पोखराबाट टर्च र्याली सोही दिन लुम्बिनी पुग्ने छ । २ गते लुम्बिनीमा दीप प्रज्जवलन गरि सोही दिन प्रदेश ६ को सुर्खेत पुग्ने लक्ष्य लिइएको छ । ३ गते धनगढी पुगेर ४ गते नेपालगञ्ज टर्च पुर्याउन लक्ष्य लिइएको छ । प्रतियोगिताको उद्घाटन हुने पाँच गते नेपालगञ्जमा नगरपरिक्रमा गरि टर्च लाइट प्रतियोगिताको उदघाटनस्थल नेपालगञ्ज रंगशाला पुर्याइने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey