२०१८ मा विदेशी भूमीमा नेपाली खेलाडीले दिलाएकाे शान

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-०९-१४
  • |
  • 270 पटक हेरिएको

अंग्रेजी बर्ष २०१८ हामीबाट विदा लिदैं छ भने २०१९ को स्वागतको तयारी भइरहेको छ । सन् २०१८ मा विश्वस्तरमा धेरै राम्रा र नराम्रा घटनाहरु भए । जसमा खेलकूद पनि परेको छ । अन्तर्राष्ट्रियस्तरमा भएका खेलकूदका गतिविधिहरुसँगै नेपाली खेलकूदले पनि सन् २०१८ लाई अविस्मरणीय बनाएको छ ।

२०१८ मा नेपाली खेलाडीले पनि विदेशी भूमीमा निकै राम्रो सफलता हात पारे । त्यसमा क्रिकेट, फुटबल, बडिबिल्डिङ मुख्य रहे । टिमका हिसावले मात्र होइन खेलाडीले ब्यक्तिगत रुपमा पनि नेपालले अन्तराष्ट्रिय रुपमा चर्चा पाएको छ ।

सन्दीप लामिछाने
यो नाम नेपालमा मात्र होइन अन्तराष्ट्रिय क्रिकेटमा पनि एउटा ब्राण्ड जस्तै बनिसकेको छ । १८ बर्षे युवा लेग स्पिनर सन्दिपले सन् २०१८ मा यस्तो उचाई छोए की त्यो आफैमा लोभ लाग्दो नै छ । चितवनको क्याम्पाचौरबाट सुरु भएको उनको क्रिकेट यात्रा यतिबेला अन्तराष्ट्रियस्तरमा लम्बिरहेको छ । यो बर्ष सन्दिपले एकपछि अर्को अन्तराष्ट्रिय लिगहरु खेले । जुनमा खेले त्यसमा उनले आफ्नो प्रभाव यसरी जमाएकी अर्को प्रतियोगिताले उनलाई लिन हिचकिचाएनन् । अहिले अष्ट्रेलियाको विगबास लिग खेलिरहेका सन्दिपको यो यात्रा करीव ११ महिना अगाडी सुरु भएको थियो । जतीबेला उनले इन्डियन प्रिमियर लिगमा दिल्लीबाट खेल्ने मौका पाए । सो प्रतियोगितामा पुछारका तीन खेल खेले पनि सन्दिपले ५ विकेट लिदै आफ्नो क्षमता विश्वमाझ देखाए । त्यसपछि त सन्दिपले क्रिकेट खेल्नै लागि ‘वल्र्ड टुर’ गरे । चाहे त्यो, क्यारिवियन प्रिमियर लिग होस, वा क्यानेडियन प्रिमियर लिग । यतिमात्र होइन उनले लर्डसमा विश्व ११ बाट खेले भने युएईमा टी–१० क्रिकेटमा पनि सहभागीता जनाए । यतिबेला विग बासमा रहेका सन्दीप त्यस लगत्तै बंगलादेश प्रिमियर लिग खेल्नेछन् । क्रिकेटबाट नै नाम र दाम कमाइन्छ भन्ने पुष्टि गरेका सन्दीपले जुन उमेरमा अन्तराष्ट्रिय फेम कमाएका छन्, त्यो नेपाली खेलाडीले पाउछ भनेर कमैले सोचेका थिए । एक बर्षमा नै करोडपती खेलाडी बनेका सन्दीपका चर्चा जति छ, क्रिकेट बुझ्नेहरुले उनमा केहि एटिट्युड बढेको भन्ने आलोचना पनि गर्छन । तर कुनै पनि ब्यक्तिमा एउटा सक्सेस पाएपछि आफै त्यो भावनामा आउछ, तर त्यसलाई कन्ट्रोल गर्नेकाम त्यहि ब्यक्तिको हो । सन्दीपले त्यो पनि बुझेका छन् । अब सन्दिपले यो बर्षको सफलतालाई अरु केहि बर्षसम्म क्यास पक्कै गर्नेछन् । तर त्यसका लागि उनले अझ मेहेनत भने गर्नुपर्नेछ ।

नेपाली क्रिकेट टिमको सफलता
नेपाली क्रिकेट टिमले यो बर्ष ऐतिहासिक सफलता हात पा-यो । त्यो हो चार बर्षका लागि एकदिवसिय मान्यता पाउनु ।

जिम्वावेमा भएको विश्वकप छनोटमा आठौं स्थानमा रहेर नेपालले चार बर्षका लागि एकदिवसिय मान्यता पायो । जसमा उसले तीन वटा अन्तराष्ट्रिय खेलहरु पनि खेल्यो । ती मध्ये दुईमा हार र एक खेल जित्यो । अब नेपालले सन् २०१९ को सुरुमै युएईसँग एकदिवसीय क्रिकेट खेल्दैछ।

रोहित चन्द
रोहित चन्द यो नाम नेपालमा भन्दा इन्डोनेसियामा बढी चर्चामा छ ।

इन्डोनेसियाको लिग खेल्ने रोहितले यो बर्ष अहिले सम्मकै ठूलो सफलता हात पारे । उनी खेलेको क्लवले लिगको उपाधि मात्र जितेर रोहित उत्कृष्ट खेलाडी बन्न सफल भए । इन्डोनेसियन माझ सेलिब्रेटी रोहित एउटा यस्ता खेलाडी हुन्, जसले डिफेन्स र मिडफिल्ड दुबैमा उत्कृष्ट खेल्छन् ।  एउटा प्रफेक्ट कोम्बो खेलाडी रोहितको सफलताले पुरै देश नै खुसी बन्यो । इन्डोनेसियन लिगको अन्तिम खेलमा मित्रा कुकरलाई दुई एकले हराउँदै लिगको शीर्ष स्थानमा रहदै उपाधि जित्यो ।
पर्सिजाको जितमा सिमिसले दुई गोल गरे ।

जसका कारण लिगमा पीएसएमलाई एक अंकले पछि पार्दै रोहितको टिमले उपाधि जित्न सफल भयो । रोहित सार्क क्षेत्रबाट बाहिरी देशमा उपाधि जित्ने पहिलो फुटबल खेलाडी बनेका छन् ।

यसअघि नेपाली गोलकिपर किरण चेम्जोङले विदेशी भुमिमा उपाधि जितेपनि सबै सार्क क्षेत्रकै थिए । किरणले मल्दिभ्स र भारतको आई लिगको उपाधि जितेका थिए । रोहित सन् २०१३ देखि निरन्तर पर्सिजा टिमबाट खेलिरहेका छन् । जसमा उनले यो सिजन २१ खेल खेल्दा तीन गोल गरेका थिए ।

किरण चेम्जोङ
रोहितकै बाटोमा अगाडी बढेका अर्का फुटबलर हुन गोलकिपर किरण चेम्जोङ । नेपाली नम्वर एक गोलकिपर किरण पछिल्लो पटक एकपछि अर्को रुपमा विदेशी लिग खेल्नमा ब्यस्त छन् । नेपालको राष्ट्रिय टिमका पहिलो रोजाइका गोलकिपर किरणले पनि यो बर्ष विदेशी भुमिमा नेपालको झण्डा निकै फहराए ।

उनी माल्दिभ्स लिगको उत्कृष्ट गोलकिपर बनेपछि उनको चर्चा झन चुलिएको छ । टिसी स्पोर्टसलाई माल्दिभ्सको धिवेही प्रिमियर लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका किरण टीसी स्पोर्ट्स क्लबले यस सिजन उपाधि जित्दा लिगको सर्वोत्कृष्ट गोलकिपर चुनिएका थिए ।
किरणको टोलीले लिगको १६ खेलमा १३ जित, १ बराबर र २ हारसहित ४० अंक जोड्दै लिग जितेको थियो । किरणको टोलीले लिग अवधिभर खेलेका १६ जम्मा ५ खेलमा मात्र गोल खाए । किरणले यसअघि पनि भारतके मिन्नरेभा पन्जाबबाट खेल्दै टिमलाइ आई लिग उपाधि पनि जितेका थिए । विदेशी लिगमा मात्र होइन किरणले राष्ट्रिय टिमका लागि पनि निकै ठूलो यागदान दिएका छन । उनले राष्ट्रिय टोलीलाई एएफसी सोलिडारिटी कप जिताउन पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले घरेलु लिगमा थ्रीस्टारबाट राष्ट्रिय लिग जितेका थिए । किरणले टिसी स्पोर्ट्सबाट दुई वर्षअघि बंगलादेशमा सम्पन्न शेख कमल अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि उचालेका थिए ।

महेश्वर महर्जन
नेपालमा शारिरीक सुगठन खेल अहिले पनि ब्यवसायिक हुन सकेको छैन्, नत यसलाई कसरी ब्यवसायिक बनाउन सकिन्छ भनेर कसैले सोचेका नै छन् । यो खेलमा लागेका जति पनि खेलाडी छन् उनीहरु ब्यक्तिगतरुपमा आर्थिक ब्यवस्थापन गरेर खेलमा लागिरहेका छन् । निकै खर्चिलो, त्यसमा पनि खानेकुराहरुमा पूर्ण नियन्त्रण गरेर तौलिएर खानुपर्ने खेलमा लाग्न चाहेर पनि धेरैले सक्दैनन् । यस्तैमा पछिल्लो पटक नेपालमा राष्ट्रिय प्रतियोगितामा सहभागिता राम्रो गर्न नसके पनि अन्तराष्ट्रिय स्तरमा पदक जित्ने खेलाडी हुन महेश्वर महर्जन ।

भुटानमा भएको एशियन च्याम्पियनसिपमा पदक जितेर तहल्का मच्चाएका महेश्वरले विश्व च्याम्पियनसिपमा स्वर्ण पदक चुमेर अर्को सफलताको सिडी चडे । उनले थाइल्याण्डको चाङमईमा भएको १०औं विश्व च्याम्पियनसीपमा स्वर्ण जितेका हुन् ।

महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका थिए । विश्व च्याम्पियनसीपमा नेपाली बडीबिल्डर विजेता बनेको यो पहिलो पटक हो । यसअघि श्याम श्रेष्ठले रजत पदकसम्म जितेका थिए । च्याम्पियनसीपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जिते । उनले स्वर्ण जितेर खुसीको आशु झारेके स्टेजमा भने नेपालके राष्ट्रिय गान पुराने बजेर विवाद पनि भयाे ।

नेपाली महिला फुटबलको सफलता
नेपाली महिला फुटबल टिम दक्षिण एशियाली स्तरमा सधै पदकको विजेताका रुपमा हेरिदै आए पनि अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि उचाल्न सकेको छैन् । जहिले नेपालको तगाँरो भारत नै बन्दै आएको छ । यसबर्ष नेपाली महिला फुटबल टिमले अहिलेसम्म कै ठूलो सफलता हात पा-यो ।

त्यो हो ओलम्पिक छनोटको एशिया रिजनको दोस्रो चरणमा स्थान बनाउनु । पहिलो पटक ओलम्पिक छनोटमा सहभागीता जनाएको नेपाली महिला टिमले आफ्नो पहिलो सहभागितामा नै ऐतिहासिक सफलता हात पारेको हो । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक हरी खड्काको प्रशिक्षणमा रहेको नेपाली महिला टिमले सन् २०२० मा हुने टोकियो ओलम्पिकका लागि एशियाली छनोटको पहिलो चरण पार गर्न सफल भएको हो । तर प्रतियोगितामा नेपालले एक खेलमा पनि जित भने निकाल्न सकेन् । समुहका तीनै खेलमा बराबरी खेलेको नेपाल तेस्रो हुने उत्कृष्ट दुई टिमका रुपमा दोस्रो चरणमा स्थान बनायो । जसले गर्दा नेपाली फुटबल समर्थकलाई खुसी दिलायो । तीन खेलमा तीन अंक जोडेको नेपाललाई समुहमा विजेता वा उपविजेता हुने सुनौलो अवसर रहेको भए पनि अन्तिम खेलमा बंगलादेशसँग एक एकको बराबरी खेलेपछि उत्कृष्ट तेस्रो टिमका रुपमा अर्को चरण प्रवेश ग¥यो । अब दोस्रो चरणका खेलहरु सन २०१९ को अप्रिल १ देखि ९ तारिखसम्म हुनेछन् ।

प्याराग्लाडिङ रजत पदक
नेपालमा प्याराग्लाडिङ एउटा साहासिक र मनोरञ्जनका रुपमा लिइन्छ । प्याराग्लाडिङले यो बर्ष एसियाडमा नेपालको लाज जोगायो ।

एसियाडको ६७ बर्षे इतिहासमा नेपालले दोस्रो रजत पदक जित्दा प्याराग्लाडिङले पहिलो सहभागितामा नै पदक दिलायो । पदकको आशा गरिएका तेक्वान्दो, कराते, बक्सिङ खालि हात फर्कदा सामान्य तयारी र सरकारको खासै लगानी नभएको खेल प्याराग्लाइडिङले भने नेपालले नसोचेको पदक दिलायो ।
प्याराग्लाइडिङको पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणमा नेपाल दोस्रो हुँदै रजत जित्न सफल भयो । यसअघि तेक्वान्दोकी सविता राज भण्डारीले सन् १९९८ मा थाइल्याण्डको बैंककमा तेक्वान्दोमा रजत जितेकी थिइन । त्यसपछिका १६ संस्करणमा सहभागिता जनाउदा नेपालले कास्य भन्दा माथि जान सकेको थिएन ।
नेपाललाई ऐतिहासिक पदक दिलाउन नेपाली टिममा युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापाको टिमले उत्कृष्ट प्रदर्शन गरे ।
यी त भए सन् २०१८ मा नेपाली खेलाडीले विदेशी भुमिमा हात पारेका महत्वपुर्ण सफलताहरु । यी बाहेक अरु धेरै खेलाडी छन जसले आफ्नो किसिमले विदेशी भूमीमा पदक जितेका छन् । अर्को बर्ष पनि नेपाली खेलाडीले विदेशी भूमीमा कस्तो प्रदर्शन गर्नेछन त्यो हेर्न बाँकी छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey