थ्रीस्टारका कप्तान बिक्रम अस्पताल भर्ना, खुट्टाको शल्यक्रिया आजै हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-२७
  • |
  • 217 पटक हेरिएको

माघ २७, काठमाडौं । २०औं बुढासुब्बा गोल्डकपको फाइनलमा विपक्षीको डरलाग्दो ट्याकलमा परेर घाइते भएका थ्रीस्टारका कप्तान तथा राष्ट्रिय टोलीका मिडफिल्डर बिक्रम लामाको खुट्टा भाँच्चिएको छ ।

धरानबाट आजै काठमाडौं ल्याइएका उनलाई ग्राण्डी अस्पताल भर्ना गरिएको छ । ग्राण्डी अस्पतालका बरिष्ठ चिकित्सक चक्रराज पाण्डेको टिमले आजै उनको शल्यक्रिया गर्नेछ ।

खेल सुरु भएको २५औं मिनेटमा सेन्टर एरियामा सामान्य फल भएपछि रेफ्रीले सिठ्ठी फुकेका थिए । तर, आफ्नो अगाडि गुडिरहेको बल लामाले क्लियर गर्न लागे । त्यसैबेला पुलिसका तेज तामाङले डरलाग्दो ट्याकल गर्दा उनी घाइते हुन पुगेका हुन् ।

धरानमै सामान्य उपचारपछि उनलाई काठमाडौं ल्याइएको हो । उनको दायाँ नलिखुट्टा –गोलीगाँठोभन्दा थोरै माथि) भाँच्चिएको छ । डा. पाण्डेका अनुसार उनको स्टिल राख्नुपर्ने भएको छ र सामान्य अवस्थामा आउन ३ महिना लाग्नेछ ।

विपक्षी र आयोजकमाथि खनिए प्रशिक्षक केसी

पुलिसलाई हराउँदै थ्रीस्टारले प्रतियोगिताको उपाधि जितेको थियो । उपाधि बिजेता टोलीका प्रशिक्षक मेघराज केसी भने फाइनलका प्रतिस्पर्धी र आयोजकसँग निक्कै आक्रोशित देखिएका छन् ।

नेप्लेजसँगको कुराकानीमा केसीले भने कि ‘बच्चा खेलाडीहरुलाई समेटेर पुलिसले टिम बनाएको छ, उनीहरुलाई बल हान्नमात्र आउँछ, फुटबल के हो थाहा छैन ।’

पुलिसले अन्तर्राष्ट्रिय नीति, नियम तथा प्रचलनसँगै व्यवसायिक फुटबल सिक्नुपर्ने सुझाव प्रशिक्षक केसीले दिए । ‘घरेलु फुटबलमा पुलिसको राम्रो स्थान होला, तर, उसको अहिलेको प्रशिक्षक, म्यानेजर र खेलाडी कोही पनि परिपक्व देखिएनन् ।

फाइनल खेलको पहिलो हाफ निक्कै तनावपूर्ण भएको थियो । २७औं मिनेटमा दुवै खेलाडीले रातो कार्ड पाएका थिए । केसीका अनुसार आफ्ना खेलाडीलाई ‘कन्ट्रोल’मा राख्न नसक्नु र तनावका बेला झनै उक्साउने खालको गतिविधि व्यवसायिक फुटबलमा असामान्य हो ।

प्रशिक्षक केसीले लामो इतिहास बोकेको बुढासुब्बा गोल्डकपको आयोजकमाथि पनि निक्कै आक्रोशित देखिए । उनले भने, ‘आयोजकलाई हेरेर भन्ने हो भने यो मोफसलको सबैभन्दा खराव प्रतियोगिता हो ।’

मैदान, दर्शक तथा फुटबल माहोल राम्रो भए पनि आयोजकले त्यसलाई आत्मसाथ गर्न नसकेको र फुटबल नबुझेकाहरुले प्रतियोगिता आयोजना गरेको आरोप लगाए । मूख्य गरी व्यवसायिक बन्न नसकेको उनको धारणा थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey