टोरेसले दुई गोलमा पिएसजी हारबाट जोगियाे

  • Image नेप्लेज
  • ८ भदौ २०८३, सोमवार
  • 1032 पटक हेरिएको
टोरेसले दुई गोलमा पिएसजी हारबाट जोगियाे

काठमाडौं । फ्रान्सेली शीर्ष डिभिजनको नयाँ सिजनमा साविक विजेता पिएसजीले रेनेससँग २-२ गोलको बराबरीमा रोकिएको छ ।

दुई गोलले पछि परेको पिएसजीलाई दोस्रो हाफमा मैदान प्रवेश गरेका फेरान टोरेसले दुई गोल गर्दै हारबाट जोगाएका हुन् ।

रेनेसको घरेलु मैदानमा भएको खेलमा सेबास्टियन सिमान्स्कीले नवौँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । उनको प्रहार पोलमा लाग्दै जाली चुमेको थियो । पिएसजीका डिजिरे डुएले गोल गरे पनि त्यो गोल अफसाइडका कारण मान्यता पाएन । रेनेसले ३८औँ मिनेटमा अग्रता दोब्बर बनायो । प्रजेमिस्लाव फ्रान्कोव्स्कीको तल्लो क्रसमा एस्तेबान लेपोलले एक टचमै गोल गर्दै रेनेसलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पिएसजीले फेरान टोरेसलाई मैदानमा उतारेपछि खेलको दिशा बदलियो । ७१औँ मिनेटमा फाबियान रुइजको पासमा टोरेसले अफसाइड छल्दै गोल गरे र टोलीलाई खेलमा फर्काएका थिए । टोरेसले ८३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा पुर्‍याए ।

यसपटक पनि फाबियान रुइजकै पासमा उनले हेडमार्फत गोल गरेका थिए । नयाँ टोलीबाट पहिलो खेलमै दुई गोल गरेका टोरेसले पिएसजीलाई हारबाट जोगाएका थिए । यस बराबरीसँगै पिएसजीले नयाँ सिजनको पहिलो खेलबाट एक अंक जोडेको छ ।

खेल पिएसजीको घरेलु मैदानमा हुने तय भए पनि मैदानको अवस्था खेलका लागि उपयुक्त नभएपछि रेनेसको रोआझोन पार्कमा सारिएको थियो ।