क्यानडालाई हराउँदै स्कटल्यान्ड शीर्ष स्थानमा

  • Image नेप्लेज
  • २९ श्रावण २०८३, शुक्रवार
  • 1326 पटक हेरिएको
क्यानडालाई हराउँदै स्कटल्यान्ड शीर्ष स्थानमा

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत बिहीबार राति सम्पन्न खेलमा स्कटल्यान्डले क्यानडालाई १७० रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ।

स्कटल्यान्डको ब्राउटी फेरीमा भएको खेलमा पराजित भएसँगै क्यानडा ३२ खेलबाट २५ अंकसहित छैटौँ स्थानमा छ। यता, स्कटल्यान्ड ३६ खेलबाट ४५ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। क्यान्डाको हारले शीर्ष–६ को दौड थप रोमाञ्चक बनेको छ। नेपाल ३२ खेलबाट २४ अंकसहित सातौं स्थानमा छ। समान खेलबाट २५ अंकसहित क्यानडा छैटौं स्थानमा छ।

स्कटल्यान्डले दिएको ३४८ रनको लक्ष्य पछ्याएको क्यानडा ३५ ओभरमा सबै विकेट गुमाएर १७७ रनमै समेटियो। योसँगै स्कटल्यान्डले लिग–२ का सबै खेल सकाएको छ। नेपाल र क्यानडाले अब चार खेल खेल्न बाँकी छ। 

३२ खेलबाट ४३ अंक रहेको अमेरिका दोस्रो तथा समान खेलबाट ३८ अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा रहँदा १८ अंक रहेको युएई पूछारमा छ।