मेयर कप अन्तर विद्यालय फुटबल शनिबार देखि हुँदै

Kelmi

  • |
  • २०८१-१०-२४
  • |
  • 2509 पटक हेरिएको

मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन नेपालगन्ज सेन्ट जेभिर्यस स्कुल र होप इन्टरनेसनल स्कुलले प्रतिस्पर्धा गर्ने भएका छन् । 

बाँके जिल्ला फुटबल संघको आयोजनामा मेयर कप फुटबल प्रतियोगिता शनिबारदेखि नेपालगन्ज रंगशालामा हुँदैछ । 

मेयर कप फुटबल प्रतियोगिता–२०८१ को छात्र तर्फ २१ विद्यालयको सहभागिता रहेको छ । नेपालगन्ज रंगशालामा बिहिबार सार्वजनिक गरिएको खेल तालिकाको समुहमा ‘ए’ मा नेपालगन्ज सेन्ट जेभियर्स स्कुल, होप इन्टरनेशनल, पशुपति मावि राझाँ, ब्राइटल्याण्ड मावि, ड्रिमल्याण्ड, मनकामना, सगरमाथा, राम मावि, मोर्डन पब्लिक र जीवनज्योती स्कुल रहेका छन् । 

यसैगरी समुह ‘बी’ मा आदर्श मावि राझाँ, जय बागेश्वरी स्कुल, मुनतारा, ग्रीनपीस, आर्दश मावि नेपालगन्ज, सेन्टथोमस, सिद्धार्थ विद्या सदन, धम्बोझी मावि, मंगल प्रसाद मावि, युनाईटेड र नेपालगन्ज मोडेल एकेडेमी रहेका छन् । प्रतियोगिताको फाइनल खेलहरु फागुन ३ गते हुनेछ । 

यसैगरी मेयर कप छात्रा फुटबल तर्फको खेल तालिका केहि दिनमा सार्वजनिक गरिने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको प्रतिस्पर्धामा सहभागी हुने टिमको संख्या कम भएका कारण केहि दिन पछि खेल तालिका सार्वजनिक गरिने संघले जानकारी गराएको छ । 

हरेक वर्ष बाँके जिल्ला फुटबल संघले आयोजना गर्दै आएको मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरेर बाँके जिल्लाको टिम तयारी पारिने बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले बताउनु भयो । 

छात्रा तर्फको फुटबल प्रतियोगितालाई नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा स्थानीय टिमको लागि खेलाडी छनोटको रुपमा पनि लिइएको आयोजकले बताएको छ । प्रतियोगिताका दौरान उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोट चरणमा सहभागि गराउने तयारी रहेको संघले बताएको छ । 

मेयर कप फुटबल प्रतियोगिताले बाँकेमा हरेक वर्ष प्रतिभावान खेलाडी उत्पादन गरिरहेको संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो । उहाँले भन्नु भयो,‘मेयर कप भनेको विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने प्रतियोगिता हो । यसले खेलाडीहरुलाई विद्यालय स्तरबाटै उच्च स्तरको प्रतियोगिता खेल्ने अवसर प्रदान गरेको हुन्छ । यस प्रतियोगिताबाट राम्रो खेल्ने खेलाडीले भविष्यमा व्यवसायिक फुटबलरको रुपमा आफुलाई अगाडी बढाउन सक्छन् ।’ विद्यालय स्तरको खेलाडीलाई प्राथमिकतामा राखेका कारण १८ वर्ष सम्मका खेलाडीले मात्र खेल्न पाउने आयोजकले नियम बनाएको छ । 

गत वर्ष मेयर कप फुटबल प्रतियोगिताको छात्र तर्फ नेपालगन्ज सेन्ट जेभियर्स र छात्रा तर्फ नेपालगन्ज मोडेल एकेडेमीको टिम च्याम्पियन बनेको थियो । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal