विश्वकपमा नेपाली ब्याटर र बलरको रन र विकेट कति ?

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०३
  • |
  • 1532 पटक हेरिएको

आइसीसी टी–२० विश्वकप २०२४ को यात्रामा नेपालले समूह चरणको तीन खेलमा पराजय भोग्दा वर्षाका कारण एक खेलमा एक अंकमात्रै लिन सक्यो । आइसीसी टी–२० एसिया क्वालीफायर खेलेरे विश्वकपको मञ्चमा गएको नेपाली टोलीले टेस्ट नेशन्सलाई बलिङबाट कम स्कोरमा रोके पनि ब्याटिङ भने चल्न नसक्दा दक्षिण अफ्रिका र बंगलादेशसँगको खेल हार्न पुग्यो ।

सुरुका २ खेल अमेरिका र बाँकी दुई खेल वेस्टइन्डिजमा खेलेपछि अब नेपाली टिम स्वदेश फिर्ता हुने छ । सन् २०१४ पछि नेपाली टोली विश्वकप खेल्नु आफैमा उपलव्धि भए पनि अगाडिको यात्रा तय गर्न भने असफल भयो । सुपर एटमा पुग्न असफल भएसँगै २०२६ को विश्वकपका लागि फेरि छनोट चरण खेल्नु पर्ने छ ।

नेपाली खेलाडीको प्रदर्शन कस्तो रह्यो त ?
ओपनर कुशल भुर्तेलले नेदरल्याण्ड्ससँग ७ रन जोडे । उनले उक्त खेलमा १० बल फेस गर्दा १ चौका प्रहार गरे । यसैगरी दोस्रो खेल श्रीलंकाविरुद्ध रहेको थियो । तर फ्लोरिडामा बर्षा भएपछि उक्त खेलमा टस पनि भएन । त्यसपछि वेस्टइन्डिज पुगेको नेपाली टोलीले तेस्रो खेलमा दक्षिण अफ्रिकाको सामना गरेको थियो । दक्षिण अफ्रिकाविरुद्ध भुर्तेलले १३ रनको पारि खेले । उनले २१ बल फेस गर्दा एक छक्का र एक चौका प्रहार गरे । समूह चरणको अन्तिम खेलमा भुर्तेलको ब्याटबाट ४ रन बन्यो । उनले ८ बल खेल्दा १ चौका प्रहार गरे । समग्रमा भुर्तेलको ब्याटबाट २४ रन बनेको छ । 

विश्वकपमा भुर्तेलले बलिङ पनि गरेका थिए । अन्तिम खेलमा बंगलादेशविरुद्ध ४ ओभर बलिङ गर्दा २२ रन दिए भने विकेट हात परेन ।
तेस्रो खेलमा उनले दक्षिण अफ्रिकाविरुद्ध भने सानदर बलिङ गरे । उनले ४ ओभरमा १९ रन खर्चिएर ४ विकेट लिए । पहिलो खेलमा उनले बलिङ भने गरेका थिएनन् ।

अर्का ओपनर आशिफ शेख विकेट किपर हुन् । उनले नेदरल्याण्ड्सविरुद्ध ८ बलमा ४ रन बनाए । त्यतिबेला एक चौका प्रहार गरेका थिए । तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध आशिफ शेखले भने शानदार ब्याटिङ गरे । उनले ४९ बलमा ४२ रन बनाउँदा एक छक्का र चार चौका प्रहार गरे । बंगलादेशविरुद्धको अन्तिम खेलमा भने आशिफले १४ बलमा १७ रनको पारि खेले । उनले चार चौका हिर्काएका थिए । विश्वकपको यात्रामा आशिफले ६३ रन बनाए ।

अर्का खेलाडी अनिल साह बंगलादेशविरुद्धको खेलमा फ्लप भए । उनले खाता पनि खोल्न सकेनन् । दक्षिण अफ्रिकाविरुद्ध २४ बलमा २७ रनको पारि खेलेका थिए । उनले एक छक्का र तीन चौका प्रहार गरे । नेदरल्याण्ड्सविरुद्ध उनले १२ बलमा ११ रनको पारि खेल्दा २ चौका प्रहार गरे । अनिलले ३८ रन बनाए ।

कप्तान रोहित पौडेलले नेदरल्याण्ड्सविरुद्ध कप्तानी पारि नै खेलेका थिए। त्यसपछिका खेलमा भने उनको ब्याट शान्तजस्तै रह्यो।नेदरल्याण्ड्सविरुद्ध रोहितले ३७ बलमा ३५ रनको पारि खेले । उनले पाँच चौका प्रहार गरेका थिए । तेस्रो खेलमा दक्षिण अफ्रिकाविरुद्ध २ बल फेस गर्दा खाता पनि नखोलर पभेलियन फर्किए । बंगलादेशविरुद्धको खेलमा उनले जम्मा १ रन बनाए । समग्रमा रोहितको ब्याटबाट ३६ रन बन्यो । यो विश्वकपमा रोहितले बंगलादेशविरुद्ध २ विकेट लिए । ४ ओभरमा २० रन खर्चिए । दक्षिण अफ्रिका र नेदरल्याण्ड्सविरुद्ध भने उनले बलिङ गरेनन् । 

नेपाली क्रिकेटमा हार्डहिटर र रेकर्ड बनाएका कुशल मल्लको ब्याट पनि खासै चलेन । उनले पहिलो खेलमा नेदरल्याण्ड्विरुद्ध ९ बलमा ९ रनको पारि खेल्दा १ चौका प्रहार गरे । दक्षिण अफ्रिकाविरुद्ध १  रन बनाएका मल्लले अन्तिम खेल बंगलादेशविरुद्ध ४० बलमा २७ रुनको पारि खेले । उनले एक छक्का र एक चौका प्रहार गरेका थिए । कुशलले समग्रमा ३७ रन बनाए । कुशल मल्लले दक्षिण अफ्रिकाविरुद्ध २ ओभरमा १७ रन खर्चिए । अरु खेलमा भने उनले बलिङ गरेनन् । दीपेन्द्रसिंह ऐरीले नेदरल्याण्ड्सविरुद्ध १ रन बनाए । उनले ६ बल फेस गरेका थिए । दक्षिण अफ्रिकाविरुद्ध ११ बलमा ६ रन जोडेका थिए । बंगलादेशविरुद्धको अन्तिम खेलमा दीपेन्द्रले ३१ बलमा २५ रनको योगदान गरे । विश्वकपभरी दीपेन्द्रको ब्याटबाट कुल ३७ रन बन्यो । 

विश्वकपका सबै खेल खेल्ने अर्का खेलाडी हुन् गुलसन झा । तर उनको ब्याट पनि शान्त रह्यो । उनले बंगलादेशविरुद्ध ४ बल फेस गर्दा खाता खोल्न सकेनन् । दक्षिण अफ्रिकाविरुद्धको खेलमा ६ बलमा ६ रन बनाएर रन आउट भए । नेदरल्याण्ड्सविरुद्ध गुलसनले १५ बलमा १४ रन जोडे । समग्रमा गुलसनले २० रन बनाए । बलिङतर्फ नेदरल्याण्ड्सविरुद्ध गुलसनले २ ओभरमा १७ रन दिएपछि त्यसपछिका खेलमा उनले बलिङ गरेनन् । 

सोमपाल कामी र करण केसी नेपालका मुख्य बलर हुन् । सोमपालले सबै खेल खेल्दा करणले अन्तिम खेल खेलेनन् । करणलाई बंगलादेशविरुद्धको खेलमा बेन्चमा राखिएको थियो । सोमपालले नेदरल्याण्ड्सविरुद्ध ५ बल फेस गर्दा खाता खोलेनन् । दक्षिण अफ्रिकाविरुद्ध उनले ४ बलमा ८ रनको नटआउट पारि खेलेका थिए । जसमा एक छक्का पनि सामेल छ । बंगलादेशविरुद्ध सोमपालको ब्याटबाट खाता खुलेन ।
सन् २०१४ को पनि विश्वकप खेलेका एक मात्र नेपाली खेलाडी सोमपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध ३ ओभरमा १० रन दिएर २ विकेट लिए । दक्षिण अफ्रिकाविरुद्ध उनले २ ओभर बलिङ गर्दा १ ओभर मेडन राखेर ६ रनमात्रै खर्चिए । नेदरल्याण्ड्सविरुद्ध सोमपालले ४ ओभर बलिङ गर्दा १८ रन दिएर एक विकेट हात पारे । बलिङतर्फ सोमपालले ३ खेलमा ३ विकेट लिए । 

करण केसीले यो विश्वकपमा २ खेल खेल्न पाए। नेदरल्याण्ड्सविरुद्ध १२ बलमा १७ रनको पारि खेल्दा २ छक्का प्रहार गरे। दक्षिण अफ्रिकाविरुद्ध उनको ब्याटिङ गर्ने पालो नै आएन। बलिङतर्फ करण केसीले दक्षिण अफ्रिकाविरुद्ध १ ओभरमा ९ रन दिए। नेदरल्याण्ड्सविरुद्ध करणले ३ ओभर बलिङ गर्दा १७ रन खर्चिए। यो विश्वकपमा उनले एक विकेट पनि हात पारेनन्। सागर ढकालले नेदरल्याण्ड्सविरुद्ध मौका पाएका थिए। उनले त्यहा खाता खोल्न सकेनन्। स्पिन बलर सागरले ४ ओभरमा २१ रन दिए । विकेट हात परेन। अमेरिकामा भएको खेलमा भिसाका कारण जान नपाएका स्टार लेगस्पिनर सन्दीप लामिछानेको इन्ट्री दक्षिण अफ्रिकाविरुद्धको खेलमा भयो। उनी वेस्टइन्डिजमा भएका दुवै खेलमा सहभागी भए ।

सन्दीपले दक्षिण अफ्रिकाविरुद्ध ४ ओभरमा १८ रन खर्चिएपनि विकेट लिन असफल रहे । ब्याटिङमा उनले पालो पाएनन् । बंगलादेशविरुद्धको अन्तिम खेलमा भने ब्याटिङ र बलिङ दुवै पाए पनि ब्याटिङतर्फ बल फेस गर्नु नै परेन । तर, बलिङतर्फ ४ ओभरको स्पेलमा सन्दीपले १ ओभर मेडन राख्दै १७ रन खर्चिएर २ विकेट हात पारे । उनको यो २ विकेटसँगै टी–२० विश्वकपमा १०० विकेट पूरा भएको छ । एशोसिएट राष्ट्रबाट (५४) थोरै खेलबाट १०० विकेट लिने पहिलो खेलाडी बन्दा समग्रमा भने दोस्रो खेलाडी भएका छन् । उनीभन्दा अगाडि अफगानिस्तानका राशिद खानले ५३ बलमा १०० विकेट पूरा गरेका थिए । 

डेथ ओभरस्पसलिष्ट अभिनाश बोहोराले नेदरल्याण्ड्सविरुद्ध खाता खोल्न सकेनन् । बलिङतर्फ भने ३.४ ओभरमा २९ रन दिएर १ विकेट हात पारे । दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गर्ने पालो आएन । बलिङतर्फ ३ ओभरमा १९ रन दिए पनि विकेट हात परेन । अन्तिम खेलमा बंगलादेशविरुद्ध पनि ब्याटबाट खाता खुलेन भने एक ओभर बलिङ गर्दा १० रन खर्चिए । 

सन्दीप जोराले अन्तिममा बंगलादेशविरुद्धको मात्रै खेल खेलेका हुन् । उनले ८ बलमा १ रन बनाए ।  विश्वकप स्क्वाडमा रहेका ललित राजवंशी भने एक खेलमा पनि मैदान उत्रिन पाएनन् । यसअघि विश्वकप स्क्वाडमा समावेश युवा खेलाडी प्रतिश जिसी सुरुका खेलमा अन्तिम १५ मा रहे पनि मौका पाएनन् । उनलाई पछि सन्दीप लामिछानेले रिप्लेस गरेका थिए ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey