सातै प्रदेशको खेलकुद बजेट कस्तो छ ?

Kelmi

  • मुक्तिबाबु रेग्मी
  • |
  • २०८१-०३-०२
  • |
  • 643 पटक हेरिएको

काठमाडौं । सबै सात प्रदेशले शनिबार आर्थिक बर्ष २०८१–८२ को बजेट प्रदेश सभामा पेश गरेका छन् । संविधान अनुसार असार १ गते सबै प्रदेशले संसदमा बजेट पेश गर्नु पर्ने ब्यवस्था रहेको छ । अधिकांश प्रदेशले बजेटको आकार घटाएका छन् ।

यहाँ हामी खेलकुदमा कुन प्रदेशले कति बेजट समावेश गरे त्यसको बारेमा जानकारी दिन्छौं ।

कोशी प्रदेशले मनोरञ्जनात्मक र खेलकुद सेवा भनेर १० करोड २५ लाख ७६ हजार बिनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् । बजेट भाषणको ११६ नम्बरको बुँदामा यसरी उल्लेख गरिएको छ । ‘प्रदेशमा खेलकुद पूर्वाधार विकास र खेलकुद गतिविधिलाई विद्यालय तहबाटै विकास गर्न तथा राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई पुरस्कृत गर्न र खेल क्षेत्रको विकास एवं खेलाडीको क्षमता विकास गर्न तथा झापाको कमल गाँउपालिकामा रहेको आदिवासी जनजाति रंगशाला, पाँचथर रंगशाला निर्माणका लागि आवश्यक रकम विनियोजन गरेकोछु । आगामी मंसिर २ देखि ७ गते सम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रदेशको सहभागिताका लागि आवश्यक बजेट व्यवस्था गरेकोछु ।’

मधेश प्रदेशमा अर्थमन्त्री भरत साहले बजेट पेश गरेका थिए । उनले युवा वर्गहरुलाई खेलकुदतर्फ आकर्षित गर्न तथा खेलकुद क्षेत्रको प्रवद्र्धन गर्नको लागि युवाहरुको लागि स्पोर्टस सामाग्री प्रदान गर्न २ करोड ५० लाख रुपैयाँ बिनियोजन गरिएको बताए । खेलकुद तथा समाज कल्याण मन्त्रालय तर्फ १ अर्ब ९५ करोड ८३ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । 

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट पेश गरेका छन् । उनले युवा तथा खेलकुद शीर्षकमा स्वास्थ्य जीवन तथा स्वअनुशासनका लागि खेलकुद भन्ने मान्यतालाई आत्मसात् गर्दै खेलाडीहरुको लागि प्रशिक्षणको उचित व्यवस्था गरी प्रतिभावान् र व्यावसायिक खेलाडीहरुको उत्पादन तथा प्रोत्साहन गर्न आवश्यक रकम विनियोजन गरेको बताए ।

खेलकुद मन्त्री बिराजभक्तले गरे वाचा पूरा, पुरस्कार खेलाडीको खातामा

यसैगरी, चितवनको भरतपुर महानगरपालिकमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहलगानीमा सम्पन्न गर्न रु. १० करोड व्यवस्था गरेको गरिएको छ । त्यसैगरी हेटौंडाको गौरीटारमा निर्माणाधीन अन्तर्राष्ट्रिय खेलकुद परिसर तथा निर्माणाधीन अन्य खेलकुद पूर्वाधार निर्माणका कार्यलाई निरन्तरता दिन रु. ७ करोड ५५ लाख विनियोजन गरिएको छ । यस्तै, सबैका लागि खेलकुदको अवसर प्रदान गर्न र स्थानीयस्तरमा हुने खेलकुदलाई प्रोत्साहन गर्न खेल पर्यटनको विकास एवम् प्रादेशिक खेलकुद प्रतियोगिता सञ्चालन गरिने कुरा बजेटमा समावेश गरिएको छ । उक्त कार्यक्रमका लागि रु. ८ करोड विनियोजन गरिएको बताए । 

उनले युवा तथा खेलकुद मन्त्रालयतर्फ रु. ७४ करोड विनियोजन गरेको बताए ।

गण्डकीको प्रदेशसभामा आर्थिक योजना मन्त्री डा.टंकराज गुरुङले बजेट पेस गरेका थिए । उनले खेलकुद र मनोरञ्जनात्मक शीर्षकमा ९ करोड २४ लाख ६७ हजार रुपैयाँ विनियोजन गरेका छन् । उनले खेलकुद क्षेत्रको विकास, विस्तार र सुदृढिकरणका लागि संघ सरकार र स्थानीय तहबीच सहकार्य र साझेदारी गर्दै खेलाडीहरुको व्यावसायिकता विकास, प्रशिक्षण र प्रोत्साहनका विशेष कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाएको बताए । साथै प्रदेशका ख्यातिप्राप्त खेलाडीहरुको सम्मान कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको उल्लेख गरे ।

यर्सगरी उच्च उचाई खेल तालिम केन्द्रको पूर्वाधार निर्माणका कार्य आगामी आर्थिक वर्षमा सुरुवात गरी उच्च उचाईका खेलका लागि ‘उचाइमा खेलः खेलमा उचाई’ कार्यक्रम सञ्चालन गर्नका लागि पनि आवश्यक बजेट मिलाएको बताए ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री चेतनाराण शर्माले आगामी आर्थिक बर्षको बजेटमा शिक्षा, युवा तथा खेलकुद क्षेत्रका कार्यक्रम सञ्चालन गर्न १ अर्ब ९६ करोड ५३ लाख रुपैयाँ विनियोजन गरेका छन् । यसैगरी युवाहरुमा सकारात्मक भावना जगाउन र खेल सीप विकास गर्न खेल पूर्वाधारको निर्माण र विभिन्न प्रतियोगितात्मक कार्यक्रम सञ्चालनका लागि २३ करोड विनियोजन गरेको बताए । 

कर्णाली प्रदेश सरकारले मंसिरमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्राथमिकतामा राखेको छ । कर्णाली प्रदेशका अर्थमन्त्री महेन्द्र केसीले कर्णाली प्रदेशमा हुन गइरहेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी रंगशाला आसपासका सडकहरु कालोपत्रे गर्ने कार्यका लागि बजेट विनियोजन गरेको बताएका छन् ।

प्रदेश गौरवको आयोजनाको रुपमा रहेको प्रदेश रङ्गशाला निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ। यस प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदलाई सफल रुपमा सम्पन्न गर्न आवश्यक पूर्वाधारको निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखेको बताए । यसैगरी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडीको मनोबल उच्च राख्न प्रोत्साहन र प्रशिक्षणको व्यवस्था मिलाइने बताउँदै  खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक रकमको व्यवस्था मिलाएको प्रदेशसभामा बताए । प्रदेशको विकास र समृद्धिमा युवाको सहभागिता अभिवृद्धि गरिनेछ । युवा नेतृत्व विकास, प्रतिभा पहिचान, उद्यमशीलता तथा स्वरोजगार, युवा महोत्सव, युवा खेलकुद, युवा वैज्ञानिक, स्काउट प्रोत्साहनसम्बन्धी कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे ।

प्रदेशमा खेलकुद प्रवर्द्धन गर्न डोल्पा, जाजरकोट, सल्यान र रुकुम पश्चिमलाई पायक पर्ने स्थान चौरजहारीमा रङ्गशाला निर्माण गरिनेछ । यस कार्यको लागि रू. २० करोड विनियोजन गरेको जानकारी दिए ।

यसैगरी सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले बजेट पेस गरेका थिए । उनले पेश गरेको बजेटमा प्रदेशभित्रका सबै जिल्लाहरूमा क्रमशः बहुउद्देश्यीय रंगशाला निर्माण र स्तरोन्नति गर्दै लगिने उल्लेख गरेका छन् । यसैगरी आगामी आर्थिक वर्षमा कैलालीको टीकापुरमा निर्माणधीन टीकापुर स्पोर्टस् एकेडेमी र कञ्चनपुरको महेन्द्रनगरमा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल निर्माण सम्पन्न गर्न रु. १२ करोड बजेट विनियोजन गरेको बताए ।

यस्तै, प्रदेशभित्र र बाहिर सञ्चालन हुने खेल प्रतियोगिताहरूमा सुदूरपश्चिम प्रदेशमा छनोट प्रतियोगिता र खेलाडीहरूको सहभागिता तथा राष्ट्रिय र अन्तरराष्ट्रियस्तरका खेलकूद प्रतियोगितामा उत्कृष्ट भई पदक प्राप्त गर्ने प्रदेशका खेलाडीलाई विशेष सम्मानसहित प्रोत्साहनका लागि आवश्यक बजेटको व्यवस्था मिलाएको पनि बताए । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal